Shittalpati
विद्यार्थीले बनाए गेडागुडीबाट नेपालको नक्सा

गुल्मी,गेडागुडीबाट  नेपालको नक्सा बनाइयो  भन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन । गुल्मीमा एक विद्यालयका विद्यार्थीहरुले विभिन्न गेडागुडीबाट नक्सा तयार गरेका छन् ।

जिल्लाको मालिका गाउँपालिका–३, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत दुई विद्यार्थीले रैथाने धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् । सुशील थापा र मीनबहादुर विकले गेडागुडीबाट नेपालको नक्सा बनाएका छन् । उनीहरुले तयार पारेको नक्सा यतिबेला सामाजिक सञ्जालमा यत्रतत्र देख्न सकिन्छ ।  नेपालको जनसंख्याको ठूलो हिंसा कृषिमा आश्रित रहेको छ । सोही विषयलाई विद्यार्थीहरुले निर्माण गरेको आकर्षक नेपालको नक्सामा प्रतिबिम्बित गरिएको देखिन्छ । विद्यार्थीले प्रत्येक प्रदेशमा पाईने मुख्यवालीलाई आधार मानी नक्सा तयार गरेका छन् । नक्सालाई आकर्षक बनाउन विद्यार्थीले आफ्नै तरिकाले खाद्यान्न बालीका दाना प्रयोग गरी नक्सा तयार पारेको विद्यालयका सामाजिक विषय शिक्षक टोपलाल पौड्यालले बताए । उनीहरुले दुई दिन लगाएर न्यून खर्चमा नक्सा तयार पारेको उनको भनाइ छ । विद्यालयले उपलब्ध गराएको प्लाई बोर्डमा गमको सहायताले दलहन तथा खाद्यान्न बालीका दानाहरू टाँसेर नेपालको नक्सा बनाइएको छ ।     

नक्सामा कोशी प्रदेशलाई धान, मधेश प्रदेशलाई मसुरोको दाल, बागमती प्रदेशलाई कालो सिमी, गण्डकी प्रदेशलाई मकै, लुम्बिनी प्रदेशलाई भाँगोको दाना, कर्णाली प्रदेशलाई चामल र सुदूरपश्चिम प्रदेशलाई कोदोको दानाले संकेत गरिएको देख्न सकिन्छ । सामाजिक विषय अध्ययनका क्रममा नक्सा कार्य शीर्षकको पाठमा विद्यार्थीलाई रचनात्मक बनाइ अभ्यास गराउने क्रममा नेपालको नक्सा तयार पार्न सिकाएको शिक्षक पौड्यालले बताए । विद्यार्थीहरूले तयार पारेको नक्सालाई मालिका गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक प्रदर्शनीमा  समेत राखिएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update