Shittalpati
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय

बुटवल, केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । सैनामैना नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न नगरभित्रका विद्यालयहरुलाई निर्देशन गरेको छ । अत्याधिक चिसो बढ्दै गएका कारण विद्यालय सञ्चालन गर्न समस्या परेको भन्दै सोमबारदेखि बुधबारसम्मका लागि विद्यालय बन्द गर्न भनिएको शिक्षा शाखा अधिकृत राधा बेल्वासेले एनजेडीलाई जानकारी दिइन् । आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्यालय बन्दको निर्णय गरिएको उनले बताइन् । ‘चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न अहिलेको लागि तीन दिन विदा दिइएको हो’ शिक्षा अधिकृत बेल्वासेले भनिन् । चिसोको अवस्था हेरेर बन्दको निर्णय परिवर्तन गर्न सकिने उनको भनाई छ । यहाँ सामुदायिक र संस्थागत गरी ४० वटा विद्यालय छन् ।

यस्तै बुटवल उपमहानगरपालिकाले पनि आइतबारदेखि उपमहानगरपालिका भित्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ । यहाँ आइतबारदेखि मंगलबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । विद्यालय आउने बालबालिकामा चिसोको कारण समस्या बढिरहेकाले पठन–पाठनमा कठिनाइ हुँदै गएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले जानकारी दिए । मौसम हेरेर तीन दिनपछि बिदा थप गर्ने वा रोक्ने भन्ने निर्णय हुने समेत उनले बताए । यहाँ सामुदायिक र संस्थागत गरी ९८ वटा विद्यालय छन् ।

    एक सातादेखि चिसो तराई मधेसमा बाक्लो हुस्सु र शितलहरी सुरु भएपछि चिसोले जनजीवन असहज बन्दै गएको छ । जिल्लाका २ वटा स्थानीयले विद्यालय बन्द गर्ने निर्णय गरिसकेका र अन्य पालिका पनि विद्यालय बन्द गराउने तयारीमा रहेका छन् । तर यस विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीलाई भने जानकारी नै छैन । विद्यालय बन्द गर्ने निर्णय समन्वय इकाईलाई पालिकाले बोधार्थ पठाउनुपर्ने भए पनि उनीहरुले अहिले सम्म पठाएका छैनन् । विद्यालय बन्दको आधिकारीक जानकारी आफुहरुलाई प्राप्त नभएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेले बताए । उनले भने ‘केही स्थानीय तहहरुले विद्यालय बन्द गरिएको भन्ने सूचना गरे पनि हामीलाई आधिकारिक जानकारी नभएकाले कुन–कुन स्थानीय तहले विदा दिए भन्ने थाहा छैन ।’ चिसोका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरूले सूचना निकालेर विद्यालय बन्द गरेका हुन् । विद्यालय आउने बालबालिकामा चिसोको कारण समस्या बढ्न सक्नेतर्फ सचेत हुँदै यस्तो निर्णय लिएको सम्बन्धित स्थानीय सरकारले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update