Shittalpati
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु

पाल्पा, पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।

पाल्पाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राती रम्भाको भुमरस्थित कालिगण्डकी करिडोर सडक खण्डमा पिपलडाँडाबाट हुँगीतर्फ आउँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा गाउँपालिका–१ असर्दीका २८ वर्षीय हेमन्त जि.टीको मृत्यु भएको हो । मोटरसाइकल सडकबाट २ सय मिटर तल कालिगण्डकी किनारमा खस्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिए । घटनाको  प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाईएको छ । यस्तै रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित सडकमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु.५८ प २७२८ नं.को मोटरसाइकल र युपि ५५ एएन १११२ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लु.५८ प २७२८ नम्बरको मोटरसाइकल चालक कपिलबस्तु शुद्धोधन गाउँपालिका–५ बस्ने ४५ वर्षीय शिव शंकर यादव र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर ग्राम कक्रहवाका ३० वर्षीय जय प्रकाश गुप्ताको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को.१८ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने १८ वर्षीय जेनिस राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । लमजुङको दोर्दी गाउँपालिका–४ सिमल बिसौनीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग.१ ज ७५६१ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका–४ बासबोट बस्ने ४५ वर्षीय पुर्णबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय समाचार कक्षले जनाएको छ । दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित सडकमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग.१ ख ४१८१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ट्रकमा सवार देबघाट गाउँपालिका–३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–११ काहुँस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग.१३ प ६४२५ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१३ कमलपोखरीका १६ वर्षीय सन्तोष रोक्का मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै दाङका लमही नगरपालिका–९ झ्वाडीस्थित सडकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्र.३–०१–००५ ख ९७१९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका–१ थापापुरका ३६ वर्षीय भिम नाथ योगी र बर्दिया मधुवन नगरपालिकाका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको हो । कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोकस्थित सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.४ ख १३६५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिन दयाल थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको  बताइएको छ । यस्तै धनुषाधको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ फेचहा मोडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक महोत्तरी एकडारा गाउँपालिका–४ हलखोरीका सिताराम मुखियाको २५ वर्षीय छोरा किशन मुखियाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update