जलवायु परिवर्तनको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् । माटोको उर्वर शक्तिमा आएको क्षयीकरण, वनको गुणस्तरमा आएको ह्रास तथा भूक्षय आदिको कारण नेपालजस्ता मुलुकलाई धेरै खाले चुनौती थपिएका छन् । जलवायु परिवर्तन हुनुमा कार्बन डाइअक्साइडको बढ्दो उत्सर्जनलाई प्रमुख रूपमा लिइन्छ । जलवायु परिवर्तनका कारण हरेक क्षेत्रमा नकरात्मक असर गरेको पाइन्छ । तराईमा गर्मी मौसममा तातो हावा (लु) चल्ने र चिसोमा शितलहर र अत्याधिक चिसो हुने गर्दछ । यसबाट पनि मानिसको मृत्यु हुन्छ । यस्तो परिस्थिति प्रकृतिविरुद्धका मानवीय क्रियाकलापबाटै सिर्जना हुने हो । मानिसका कुनै क्रियाकपलापबाट जलप्रदुषण भएको छ भने कुनै क्रियाकलापबाट वायुप्रदुषण भएको छ । विश्व ब्रह्माण्डमै मौसमी परिवर्तन आइरहेको छ ।
पछिल्ला केहीदेखि तराईमा नियमित रूपमै हुँदै आएको शीतलहरको कारण यही हो भन्दा अन्यथा हुने छैन । गर्मी ठाउँमा गर्मी नहुनु र जाडो हुने ठाउँमा जाडो नहुनु भनेको प्राकृतिक नियमभन्दा भिन्न स्थिति पैदा हुनु हो । यसबाट निश्चिय प्राणी वनस्पतिलगायत अन्य प्राकृतिक कुरालाई समेत नकारात्मक प्रभाव पार्छ । यो चिन्ताको विषय हो । जाडोमा अत्यधिक जाडो र गर्मीमा अत्यधिक गर्मीले केही मानिस वर्षेनी मर्ने गरेका छन् । यसप्रति मानिसले सोच्न ढिलो भइसकेको छ । हुन त यो नेपालको मात्र चिन्ताको विषय होइन र विश्वले पनि सोचिरहेको छ । केही महिना पहिले भारतमा भएको सम्मेलनमा यसबारे प्रश्न उठेको थियो । कुनै विषयमा चिन्ता प्रकट गर्नु भनेको त्यस विषयको समाधानका लागि उपाय सोच्नु हो । त्यसकारण जलवायु प्रभावित राष्ट्रहरुले यसबारे सोच्नु उनीहरूको दायित्व हो । नेपालले तराई क्षेत्रमा हाल चलिरहेको शीतलहरबाट मानिसको ज्यान नजाओस् भनेर त्यसका लागि सर्तकता अपनाउन ढिलाई गर्नु हुँदैन ।