Shittalpati
एक महिने स्वस्थानी व्रत आरम्भ

सीमा भट्टराई
पाल्पा,
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याÞनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भएपनि प्राप्त हुने जनविश्वास रहिआएको छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । हिन्दू धर्मालम्बीहरूले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् ।

एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरिएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शालीनदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपालकै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी ब्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update