जगन्नाथ पन्त
अस्तिको रामराज्य कथा रोचक लाग्यो हजुरबा । त्यो कथा सुनेदेखि मनमा थप जिज्ञासा पलायो ठूली नातिनीले हजुरबाको ज्ञानको प्रशंसा गरिन् । रामलाई रघुवंशी किन भनिएको हो ? अयोध्या राज्य कसले स्थापना गरेका थिए ? लंका कसरी सम्बृध्द भए होला ? राम र रावण समवयी हुन कि फरक थिए ? सुन्नाको जो ईच्छा जाग्रित भयो हजुरबा । हेर नानी म कुनै ज्ञानी, शास्त्र, पुराणको अध्येता होइन । मैले भनेकै कथा अकाट्य पनि होइन । जे जति सुन्दै आए त्यही तिमीहरुलाई भन्ने गरेको छु । सुन्नको चाहाना राख्यौ, तिमीहरु जस्ता जिज्ञासु नातिनातीना संग संगै बस्न पाउनु मेरो अहो ! भाग्य रहेछ । मेरो अरु इलम पनि त छैन, ल सुन भन्दै हजुरबाले आज पनि कथा भन्न शुरु गर्नुभयो ।
त्रेता युगमा भगवान अवतार लिएका श्रीराचन्द्र मनुष्य जुनीका हिसावले ईच्छ्व राजाका ३५ ओं पुस्ता हुन । उनै ईच्छ्वले अयोध्यालाई राजधानी बनाएका हुन् । वडा महाराजाधिराज पृथ्वी नारायण शाहले काठमाडौंलाई राजधानी र गोरखाका हुँदा हुँदै देशको नाम गोरखा नराखेर नेपाल राखे जस्तै भन्ने बुझ । स्रृष्टिकर्ता ब्रह्माजीका छोरा मरिच, मरिचका छोरा कस्यप, त्यस पछि विस्वान अनि व्यवस्थमनु भए । व्यवस्थमनुका १० वटा छोराहरु मध्ये जेठा छोरा थिए ईच्छ्व । हामी सबै पनि मनुकै पिडी परपिडी नै हौ भन्ने भनाइ छ । राजा रघु ईच्छ्वका २५ ओं पिडी मानिन्छ । रघु पिडीपछि १०ओं पुस्ता हुन् राम । रघु पनि वडा प्रतापी थिए । उनि वचन पालनामा अडिग थिए । अहिलेका शासकले जस्तो झुठ्ठा आश्वासन दिदैनथे । दिएका आश्वासन वा वचन प्राण जत्तिकै थियो उनका लागि । बाल्मिकी रामायणमा रामको वंश र महिमा वर्णन गरिएको छ । कुलरित सदा चलिआई प्राण जाय पर वचन नजाइ भन्ने भनाइ उनै रघुको हो । आज पनि कसैलाई विस्वस्त तुल्याउन प्राण जाला तर वचन खेर जान्न भन्ने गर्छन नि, उनैबाट सिकेर हो । राम पनि रघु जस्तै वचनमा पक्का भएकाले रघु वंशी भनिएको हो ।
अहिलेको भारतको पम्पावन देखि श्रीलंकाको केतुस्वरमको जलस्थल दुरी ३५ किलो मिटर छ । रामेस्वर–धनुषकोडी हुँदै पम्पावन पुगिन्छ । पम्पावनदेखि लंकाको बिचमा समुन्न्द्र छ, जहाँ ८ वटा दिपहरु अर्थात टापु छन् । रामका सैनिकलाई लंका तर्न भनि तिनै टापुलाई पिलर बनाएर नल र नीलले पुल अर्थात सेतु निर्माण गरेका थिए । उक्त सेतु १०० योजन लामो र १० योजन चौढा थियो । रामेस्वरम् जसलाई हिन्दूहरुको चारधाम मध्येको एक तिर्थस्थल मानिन्छ । श्रीरामले स्थापना गरेका हुँदा रामेस्वरम् भनियो । पारी लंकामा पनि केतुस्वरम् छ । जुन शिवको मन्दिर हो, जहाँ रावणले शिवको आराधना गर्दथे । लंका राज्य अत्यन्तै वैभवले पूर्ण थियो । लंकाको दरवार सुनै सुनले बनाइएको थियो । अनेकौ मणि रत्नहरुले सुसज्जित थियो । लंकामा सुन छ, मेरो कान बुच्चै भन्ने कथन वुढा पुराना महिलाले त्यसैबाटट सिकेका हुन् । धन दौलतका देवता कुबेरले विस्वकर्मा देवतालाई आग्रह गरेर आफ्नो लागि निर्माण गरेको नगर हो लंका । रावण र कुबेर सौतेला भाइ भाइ हुन् । वलशाली रावणले सौतेला भाईबाट हडपेर लंका नगरी आफ्नो अधिन बनाएका हुन् । कुबेरले निर्माण गरेको नगर भएकाले लंका नगर संबृद्ध थियो । लंका नगरभित्र नुवाराक्षेत्र पनि छ । नुवारा भनेको पुष्प अर्थात फूल हो । त्यस ठाउँलाई पुष्प बाटिका पनि भनिन्छ । जहाँका फलफूलहरुको बगैचा हनुमानले उखलेर नोक्सान गरी दिएका थिए । नुवाराक्षेत्रमा अशोक बाटिका सबैभन्दा सुन्दर थियो । रावणले सीतालाई अशोक बाटिकामा राखेका थिए । अशोक बाटिका भएको ठाउँमा अहिले सीतामाताको मन्दिर छ ।
हामीहरुको वंशावली जस्तै रामको पनि वंशावली छ । मनुष्य जुनि लिएकाले वंशावली हुने नै भयो । अघि मैले ईच्छ्व सम्म भने थे । अव त्यस पछिका भन्छु सुन । म नाम भन्दै जान्छु एक पछि अर्का क्रमश हुन भन्नेर बुझ्नु । ईच्छ्व, कुच्छ, विकक्ष, तनयवाड, अनरण्य, पृथ्यू, त्रिसंस, धुन्धुमार्ग, मान्धाता, सुसन्धी, ध्रोवसन्धी र प्रशन्जती, भरत, असिद, सगर, असमञ्जस, अंशुमान, दिलीप, भगिरथ, काकस्त, रघु, प्रबर्द, शंखड, सुदर्शन, अग्नीवाण, शिघ्रग, मरु, प्रश्रुशक, अमरिश, नहूश, ययाति, नभाक, अज, दशरथ त्यसपछि राम । ध्रोवसन्धीका पुत्र थिए भरत । अघि भनेको सम्झेका छौ नि नामहरु हजुरबा बीचमा भन्न बिसाउनु भयो । एक गिलास मोही पिउनु भयो अनि मुख पछ्दै कथा अगाडि बढाउनु भयो । रामायण कथा नै १४ वटा छन् । रामावतर हुनु पहिले नै बाल्मिकीले रचेको बाल्मिकी रामायण, तुलसी दासको राम चरित मानस र नेपाली भएको नाताले भानु भक्त रामायण एक पटक पढ्नु अनि मैले भनेको कथा बिस्तृतमा पाउने छौ । गीति लयमा सरल रुपमा रामायण लेखेको भएर भानुभक्तले आदि कविको उपाधी पाएका हुन् है ।
बाल्मिकी पहिले रत्नाकर नामका खतरनाक डाकु थिए । एक दिन महाऋषी नारद जंगलको वाटो हिड्दै गर्दा उनले लगाएका आभुषण रत्नाकरले लुट्न लागे । तिमी यो पापकर्म किन गर्दैछौ भनेर नारदले प्रश्न गरे, परिवार पाल्न भनेर डाकुले भने । अनि नारदले थप सोधे के तिम्रो पापको भागिदार तिम्रा घरका बाउआमा, पत्नी हुन्छन् ? अवस्य छन् भनेर दिएको उत्तरमा तिमी भ्रममा छौं, घर गएर सोधेर आउ, यदि उनिहरु पापको भागिदार छन् भने तिमी मलाई लुट नत्र नलुट भनि सम्झाए । भागेर नजाउन भनेर नारदलाई रुखमा बाधेर घर पुगेर सोधे बा, आमा, पत्नीलाई क्रमश तर सबैले अरुले अरु काम गरेर पनि परिवारजन पालेका छन्, तिम्रो कर्तव्य हो हामीलाई पाल्ने, हामी तिम्रो पाप किन जिम्मा लिने, लिदैनौ भनेर जवाफ दिए । डाकु फनक्क फर्केर नारदलाई बांधेको ठाऊमा गए, बन्धन फुकाए र माफी मागे । अहिलेदेखि डाकु काम छोड्छु, आज सम्मको पापबाट मलाई मुक्त हुने उपाए सिकाउनु भनेर नारदलाई प्रणाम गरे । एउटा मन्त्र दिन्छु जपेर बस, म नआउदासम्म भनेर राम सजिलो मन्त्र दिए। तर धेरै पाप गरेकाले राम पनि भन्न नसकेर मरा मात्र निस्कियो मुखबाट । मरा मरा मराम रामरा हुँदै गयो र राम राम भन्न सकेछन् ५ वर्ष पछि । १० वर्ष भएछ नारदले झल्यास् सम्झेछन् डाकुलाई म नआउँदा सम्म मन्त्र जप भनेथे, पर्खेर बसेको होला भन्दै जाँदा त एकदम आनन्द विभोरका साथ राम राम भनेर जपेको पाए । अचम्भित र खुसी हुँदै नारदले रत्नाकारलाई जगाए, आलिंगन गरे, तिमी पापबाट मुक्त भयौ भनि सुनाए । त्रेता युग आउदै छ, रामावतार हुदैछ, रामको गाथा ग्रन्थ रामायण लेख्नु भनि संक्षेपमा रामावतारमा हुने घटना सुनाएर नारद आफ्नो बाटो लागे । यसरी डाकुबाट सन्त बनेका बाल्मिकीले रचना गरेको रामायण नै पहिलो रामायण हो । उनै बाल्मिकी ऋषीको आश्रममा सीताले लबलाई जन्म दिएकी र लब र कुशलाई हुर्काएकी हुन् । नवलपरासी गण्डक नहरको पुल तरेर भारत हुदै नेपालको भूमिमा रहेको बाल्मिकी आश्रममा पुगिन्छ । जुन आश्रम नारायणी नदीको तटमा छ । त्यहाँ पुगेमा सबै स्पष्ट हुन्छ । सीतामाताबाट लबको जन्म भएको ३ महिना पछि जतिको घटना होला, लबलाई हेर्नु है भन्दै बाल्मिकीलाई अनुरोध गरेर सीतामाता पानी लिन पधेरामा जान हिड्नु भो तर ऋषी ध्यानमा बसे भने बिर्सन्छन्, भो संगै लग्छु भनेर लबलाई संगै लैजानु भयो । सीताले अनुमान गरेझै ऋषी ध्यान बसेछन् । पछि हेर्दा झुलन खालिछ । लौ बित्यास भयो, अब सीताले के भन्लिन्, के गरु कसो गरु, यताउती कतै पाएनन् । पक्कै बाघले लग्यो भन्ने ठाने । अनि कमण्डलुवाट जल मन्त्रे, कुश समाएर कुश पनि मन्त्रे अनि मन्त्रसाधनाले लबजस्तै दुरुस्त बालक प्रकट गराए । झुलनमा राखेर हल्लाउन थाले, तत्क्षण सीतामाता पनि टुप्लुक्क पुग्नुभयो । आश्चर्य भयो । लबकुशको कथा लामै छ । अहिलेलाई यत्ति बुझ केटाकेटी ।
अयोध्याका राजा अनरण्य जीउदै स्वर्ग जादै थिए, रावणले उनलाई मार्गमै हत्या गरिदिए । अनि अनरण्यले रावणलाई सराप दिए । हाम्रो ३५ ओं पुस्ताले तलाई मार्ने छन् भनेर । वासुदेव र देवकीका आठौं गर्भवाट तिम्रो नास हुनेछ भनेर कंशलाई आकाशवाणी भए जस्तै । त्यसैले रामले त्रेता युगमा जन्म लिन पर्यो । पछि द्वापरमा कृष्णले जस्तै । कुनै विद्वानले भन्छन नि द्वापर पछि त्रेता हुनु पर्ने किन त्रेता पछि द्वापर भयो भनेर, उत्तर यसैमा छ । नानी हो हजुरबाले एकएक गरी केटाकेटीको नाम लिनु भयो नउघाउन र राम्ररी सुनुन् भनेर । राम त्रेता युगमा थिए । अस्तिको रामराज्य कथामा पनि मैले भनेथे रामले १२ हजार वर्ष राजा भएर राज गरे थे भनेर । रामका पीता दशरथ ६० हजार वर्ष जीवित रहे । अब तिमीहरुलाई अचम्म लाग्ला अनरण्य जसले रावणलाई सराप दिए । उनि छदै रावण थिए भनेपछि रावण कति वर्ष जीवित रहे होलान भनेर । रावणको आयु चतुर्युग वरावर अर्थात १ करोड २५ हजार वर्ष थियो रे भन्ने भनाइ छ । यो सुनेर नातिनातीनाहरुले लामो सास ताने । हजुरबा ९० वर्षको हुनु भो, कलियुगमा मान्छेको आयु छोटो छ भनेर एक दिन सुनाउनु हुँदा पत्याएका थिएनन् । पहिलेकाको आयु त्यति लामो हुँदो र छ र पोतो भन्नु हुदोरछ कलियुगमा मनुष्यको आयु छोटो हुन्छ भनेर नातिनीले मनमनै सोचिन् । हजुरबा रोकिनु भएको छैन । अनरण्यको सराप पछि रावण अयोध्याका राजासंग तर्सिन शुरु गरेका थिए । हुन त रावण र कुंभकर्ण महादेवका पार्शद थिए । गल्ति गर्नाले मनुष्य जुनिमा जानु, अवधि पुगेपछि शिवलोक पुन पाउने छौ भनेर महादेवले पदच्युत गर्नुभको थियो । चानेचुने त कहाँ थिए र रावण पनि । सराप पछि रावणले अयोध्यामा क्षति पुगाउन धेरै पटक कोशिस गरे पनि सकेनन् । कंशले कृण्ण नजन्मिउन, जन्मे जन्मने बित्तिकै मार्छु भने पनि विधाताको लिला कसरी टर्थ्यो र । अयोध्यामा ईच्छ्व, अनरण्य, मान्धाता, भगिरथ प्रतापी राजाहरु थिए । राजा सगरका सन्तान नहुँदा हिमालयमा गएर लामो तपस्या गरे । उनका दुइटी पत्नी थिए । तपस्याको फलस्वरुप बर्दान पाए कि एक रानीबाट ६० हजार र एक रानीबाट १ मात्र पुत्र हुनेछन् । १ पुत्रले तिम्रो वंश धान्ने छन् । सगरले पछि यश्वमेध यज्ञ गरे । यज्ञको घोडाको पछि ६० हजार छोरालाई खटाए । अश्व हरायो । जताततै खोजे भेटिएन । अश्व अर्थात घोडालाई इन्द्रले सुटुक्क कपिल ऋपीको आश्रममा लगेर बाँधिदिएका थिए । ६० हजार छोरा घोडा लिएर नफर्के पछि सगर राजा चिन्तित बने । पछि बाकि रहेको एउटा छोरालाई भाईहरु र घोडाको खोजिमा पढाए । केहि दिन पछि १ छोरा अर्थात अघि वंशाबलिमा भनिएका असमञ्जस एक्लै फर्केर आए । उनले राजा सगर अर्थात पीतालाई भेनेकि अश्वमेध यज्ञको अश्व इन्द्रले चोरेर कपिल ऋषीको कुटिमा बांधि दिएछन् । भाईहरुले जमिन, जंगल, नदी, तलाउ, जमिन मुनि समेत खोज्दा कहि पाएनछन् । पछि कपिलको आश्रमा देखेछन् । ध्यानमा अन्तरध्यान ऋषीलाई कुनै जानकारी र चासो नै रहेन छ । कपिलले नै घोडा बाधेको मानी भाईहरुले ध्यानमग्न कपिललाई तथानाम भनेर अभद्र व्यवहार गरेछन् । हल्लाले कपिलको ध्यान भंग भै नेत्र खुल्नासाथ ६० हजार सबै भाई भष्म भएछन् भनि सबै बृतान्त सुनाए । एकक्षण राजा शोकमग्न भए । वर्दान पाउदाको १ छोराले मात्र वंश चलाउने छ भन्ने सम्झना गरे अनि शान्त भए ।
ति ६० हजारको तर्पण हुन नसक्दा अगति परेका थिए । दिलीपले आफ्ना ६० हजार बाजेलाई तार्ने उपाय के छ भनि उनै कपिललाई सोधे । तिनीहरुलाई तार्न कठिन छ, भष्म भएको ठाउमा गंगा बहाउन पर्छ भनि सुझाए । पछि पनाती भगिरथले कठिन तप गरी गंगालाई रिझाएर पृथ्वीमा अवतरण गराई तारेका थिए । ठूलो प्रयत्नले गंगालाई अवतरण गर्न मनाएका थिए । तर गंगा वेगले अवतरण गर्दा जमिन भासिने र गंगाजल पनि पाताल हुने थियो । गंगाको वेग थाम्न शिवजीलाई मनाउन भगिरथले अर्को तप गर्नु पर्यो । शिवजीले आफ्नो शीरले गंगाको वेग थामिदिन राजी हुनुभयो । तर गंगाजीको जल जमिनमा झरेन । मेरो वेग कसले थाम्न सक्छ ? भनेर गंगाजीले गरेको घमण्ड तोड्न शिवजीले आफ्नो जटामा गंगालाई अलमलाइ दिनुभयो । गंगा जटाबाट निस्कन सकिनन् । फेरी भगिरथले तप गरेर शिवजीलाई रिझाए र गंगालाई शिवजीले जमिनमा बग्न दिनुभयो । गंगाजलले सगरका ६० हजार छोराहरु तारिए ।
यी उदाहरणले नै हो अहिले पनि गण्डकीमा नुहाए पापबाट मुक्त भइन्छ, पनाती पुस्ता सम्मले तर्पण दिदा पितृले पाउछन् भन्ने चलन रहेको र कठिन मेहनत वा परिश्रम गर्नु पर्ने काममा भगिरथ प्रयाश गर्छु भन्ने गरिएको । रामका पूर्वज पनि प्रतापी थिए, राम भगवान नै हुनुभयो । रामका भाई भरतले १४ वर्ष राजकाज चलाउदा उनि पनि जनता र राज्य प्रति अति नै उत्तरदायी थिए । राज्यकोष तलमाथी पारेको दोष नलागोस् भनेर गाईले दाना खाएर गोवरमा नपचेको जौको दाना जम्मा गरी शुद्ध पारी आफ्नो लागि भोजनको जोहो गर्थे । राजा नै उदाहरणीय सादगि र मितव्ययी भएपछि, मन्त्री, कर्मचारीहरु पनि जवाफदेही भएर काम गरे । देशका लागि काम, स्वावलम्बी बनि खाउ माम भने जनताले पनि । दशरथका समयमा भन्दा भरतको राजकाज समयमा राज्यकोष १० गुणा बढी र अयोध्या झन् सम्बृद्ध भएको थियो । लौ नातिनातीना हो अब एक महिना स्वस्थानी कथा सुन्ने हो, अरु कथा भन्नु नभने है भनि आजको कथा सक्नुभयो र ए कान्छा मेरो ओछ्यान मिलाई दे भन्दै हजुरबा सुत्न आटितिर लाग्नुभयो ।