Shittalpati
७१ औँ विश्व कुष्ठरोग दिवस मनाइयो

पाल्पा, विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो ।

यसवर्षको नाराले कुष्ठ प्रभावित व्यक्तिको  स्मरण गर्दै रोगबारे चेतना जगाउने, कुष्ठरोगसँग सम्बन्धित लाञ्छना एवं भेद्भावको अन्त्य गर्न र मर्यादित व्यवहार गर्न ध्यानाकर्षण गराउने रहेको छ । दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग र देशभरका स्वास्थ्य संस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित छन् । कुष्ठ प्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन् । यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता रहेको  बताइएको छ । विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले  कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो ।

कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । उपचार गरे पूर्णरुपमा यो रोग निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरेको थियो । उक्त समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ प्रतिशत थियो । कुष्ठरोग नियन्त्रण शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म शून्य दशमलव ८५ रहेको छ भने १४ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा एक भन्दा धेरै बिरामी छन् । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update