पाल्पा, कुष्ठरोगी पहिचानमा सकस भएको छ । उनीहरु अझै पनि खुलेर बाहिर आउन नसक्दा पहिचानमा सकस देखिएको हो । यो रोग नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भएपनि समाजमा अपहेलित होइने डरले निर्धक्कसँग खुल्न नसक्दा रोग पहिचानमै सकस देखिएको छ । कुष्ठरोगका लक्षण देखिए पनि परिवार र समुदायबाट विभेद हुने डरले उनीहरु उपचारका लागि अस्पताल नगई रोग पालेर बस्दा कुष्ठरोगी पहिचान गर्न गाह्रो भएको हो । साँघुरो सामाजिक सोंच, लज्जा, जनचेतनाको अभाव, अन्धविश्वासले बिरामीहरू खुलेर उपचार गराउन अस्पताल जादैनन् ।
परिवार र समुदायबाट विभेद हुने भएकाले कुष्ठरोगीहरू खुलेर सार्वजनिक ठाउँ र कार्यक्रममा जानसमेत हिच्किचाउने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले एनजेडीसँगको कुराकानीमा बताए । ‘समाजमा अझै पनि कुष्ठरोगीलाई हेर्ने परम्परागत नजर बदलिएको छैन ।’ उनले भने, ‘राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन हुन सकेको छैन । समाजमा यसलाई पाप गर्नेहरूलाई लाग्ने रोगको रूपमा हेरिन्छ ।’ परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाई घृणा गरिने भएकाले उनीहरूलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाई छ । ‘यो रोग लाग्दा सुरुमा खासै समस्या हुँदैन, जसले गर्दा पनि विरामीहरु अस्पतालसम्म पुग्न चाहँदैनन्, यसले पनि रोग पहिचानमा सकस छ’ प्रमुख गिरीले भने । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त नेपाल बनाउन राष्ट्रिय कुष्ठरोग रणनीति लागू गरेको छ । तर, कुष्ठरोगीको पहिचान गर्नै सकस हुँदा उपचारमा कठिनाइ हुने गरेको छ ।
पाल्पामा ११ जना कुष्ठरोगी
पाल्पामा अझै पनि ११ जना कुष्ठरोगीहरु रहेका छन् । जसमा तानसेन नगरपालिकामा ५, रामपुर नगरपालिका, निस्दी गाउँपालिकामा २/२, माथागढी गाउँपालिका र बगनासकालीमा १÷१ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार चालु आर्थिक वर्षको कार्तिक महिनाको मसान्तसम्म ११ जना कुष्ठरोगीले नियमित औषधि सेवन गर्दै आएका छन् । यो संख्या गत वर्ष भन्दा कम हो । २०७९ मा जिल्लामा १२ जना कुष्ठरोगी रहेका थिए । विगत पाँच वर्ष देखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ । पाल्पामा २०७६ मा १५ जना कुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा रहेको छ । यहाँ अन्य जिल्लाबाट पाल्पामा आएका व्यक्तिको संख्यालाई समेत गणना गरिएको हो ।
नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन । पाल्पा भने कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोगका विरामी भए पनि त्यति ठूलो संख्यामा नरहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । अन्य जिल्लाहरुको तुलनामा यहाँ कुष्ठरोगीहरुको अवस्था मध्यम रहेको उनको भनाई छ । गिरीले कुष्ठरोग निवारणको चरणमा पाल्पा रहेको बताए । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने उनको भनाई छ । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने डा.गिरीले बताए । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वास बारे भ्रम चिर्नुपर्छ’ उनले भने, ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ । शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको सम्भावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने गिरीले बताए ।
कुष्ठरोग लागेपछि शरीरका अंगले घाउ भएको समेत थाहा नपाउने भएकाले अन्य संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । कुष्ठरोगलाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरि उपचार र खोजी अभियान थाल्नुपर्ने उनले बताए । अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न उनले आग्रह गरे । प्रमुख गिरीले स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्य कार्यालयले समुदायमै गएर शिविरमार्फत विरामीहरुको पहिचान गर्ने कामलाई अगाडि बढाएको बताए ।