प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र, नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ अथवा भूभागलाई सिमसार क्षेत्र भनिन्छ । नेपालको झण्डै ६ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ । तर सिमसार क्षेत्रको संरक्षण, बुद्धिमतापूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानुन अझै बन्न सकेको छैन । जसका कारण सिमसार क्षेत्र नासिदै गएका छन् । अमानवीय गतिविधिले गर्दा सिमसार क्षेत्रहरू विभिन्न समस्याको चपेटामा परिरहेका छन् । सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ र जथाभावीरूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ । कैयन् सिमसार क्षेत्रहरूको अझै पनि स्पष्ट सिमाना निर्धारण गर्न नसकिएका कारण मानिसले उक्त स्थानहरूको अतिक्रमण गरी घर/टहरा बनाउने र खेतीपाती गर्ने गरेका छन् । जसका कारण सिमसार क्षेत्रहरू नासिदै गएका छन् । यो अत्यन्त दुःखको कुरा हो ।
विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ । तर दिवस मनाइँदै गर्दा सिमसार संरक्षणमा कसैको पनि ध्यान पुग्न सकेको छैन । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्दछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । यसले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ । पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ । सिमसारमा आश्रित समुदायको गरिबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आज प्राथमिकताको विषय बनेको छ । तर, नेपालका सिमसार क्षेत्रहरु दिनानुदिन नासिँदै जानु चिन्ताको विषय हो । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सक्रिय हुन आवश्यक छ । यसर्थ सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा आम नागरिक र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।