Shittalpati
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा

पाल्पा, असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले असहाय बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजमा सम्मानजनक रुपमा जीवनयापन गर्न संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेकाले उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने कुरा सिकाउनु अहिलेको आवश्यकता रहेको औल्याउँदै संघले भोलीका दिनहरुमा अझ सशक्त ढंगले आफ्ना कार्यक्रम र गतिविधिहरुलाई सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मनोज आचार्य, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, जेष्ठ नागरिक समाजका अध्यक्ष देवराज ढकाल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बाबुराम कार्की, तानसेन नगरपालिका ७ का वडा अध्यक्ष प्रदिप खनाल, परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोभाकान्त न्यौपाने, नेपाल बार एसोसियसन पाल्पाका इकाई अध्यक्ष विनोद कार्की, पाल्पा व्यापार संघका प्रतिनिधि विष्णु कार्की, मानव अधिकार तथा शान्ति समाज पाल्पाकी अध्यक्ष रेनुका देवकोटा, सेवा उपसमितिका रामप्रसाद आचार्य, संस्थाका संस्थापक अध्यक्ष हिराधर आचार्य, पूर्व कोषाध्यक्ष शालिकराम रावल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

२०७० सालमा स्थापना भएको संस्थाले असहाय बालबालिका र ६० वर्ष भन्दा माथिका नागरिकका लागि असल शिक्षा दिर्दै आएको संस्थाका अध्यक्ष शिवप्रसाद देवकोटाले बताए । उनले भने ‘हामीले हेप्पी होमको अवधारणा अनुरुप समाजमा रहेका असहाय बालबालिका र जेष्ठ नागरिकहरुलाई घरमै कसरी खुसी राख्न सकिन्छ भन्ने खालका शिक्षावर्दक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।’ विद्यालय तहमै पुगेर विद्यार्थीहरुलाई आफ्ना आमा बाबा, असहाय भाईबहिनीहरुलाई माया, सद्भाव प्रकट गर्न आग्रह गर्ने गरेको उनले बताए । अध्यक्ष देवकोटाले छोराछोरीका कारण बाबुआमा वृद्धआश्रम जान नपरोस् भनेर छोराछोरी र जेष्ठ नागरिकसँग बसेर आवश्यक शिक्षा, सल्लाह र परामर्श दिर्दै आएको समेत बताए । उनका अनुसार संघले जेष्ठ नागरिकलाई भजनकिर्तन गराउने, मनोरञ्जन प्रदान गर्ने र बालबालिकाहरुलाई बाबु आमाको सेवा सत्कार गर्नु पर्छ भन्ने शिक्षा दिन विद्यालय तहमा पुगेर वक्तृत्वकला, हाजिरीजवाफ जस्ता कार्यक्रम गर्दै आएको छ । 

संघले आगामी दिनमा जिल्लाका १० वटै स्थानीय तहमा सेवा समिति गठन गर्ने, वडा तहमा वडा सेवा समिति गठन गर्ने गरी कार्यक्रम ल्याइएको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भोजराज पराजुलीले संस्थाको आयव्यय गरेका थिए । संस्थाका अध्यक्ष शिवप्रसाद देवकोटाको अध्यक्षता, सचिव तुलबहादुर रावलको स्वागत, सहसचिव रमेशबहादुर बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update