Shittalpati
आज विश्व सिमसार दिवस मनाइदैं

पाल्पा, आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष नेपालमा दिवसको नारा ‘सिमसार र मानवको कल्याण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन यो दिवस मनाउने गरिएको हो ।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ । सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका झण्डै ३ अर्ब जनसंख्याका लागि पुग्ने चामल उत्पादन हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै हुने यस क्षेत्रका विज्ञले बताएका छन् । यस्तै, सिमसार क्षेत्र चराका लागि बच्चा कोरल्न पनि उपयुक्त हुने अध्ययनले देखाएको छ ।

नेपालको करिब ६ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघ नेपालको गत वर्षको अभिलेख अनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याड्ढ अनुसार नेपालमा पाइने १ सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । यसैगरी नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । हालसम्म विश्वमा नेपालसहित एक सय ७० राष्ट्रले सिमसार संरक्षणका लागि रामसार सन्धिमा हस्ताक्षर गरिसकेका छन् । विश्वका एक हजार ६ सय ७६ सिमसार रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालका घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोशी टप्पु आरक्ष, से–फोक्सुन्डो ताल, गोक्यो ताल, माईपोखरी, रारा ताल, पोखराका विभिन्न ताल विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्र हुन् । सिमसारको जैविक मात्र होइन, धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिले पनि महत्व रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update