Shittalpati
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’

पाल्पा, नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवर्धननमा टेवा पुर्‍याउँदै आएको हो ।

कोभिड महामारीबाट थिलो थिलो परेको पर्यटन क्षेत्रलाई माथि उकास्न र कम्पनीको योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई भ्रमण गराउने उद्देश्यले नेशनल कम्पनीले देशका मुख्य पर्यटकीय स्थलहरु छनौट गरी भ्रमण गराउँदै आएको छ । यस पटक कम्पनीले भ्रमणको पहिलो रोजाइ पाल्पाको रानीमहललाई पार्‍यो । कम्पनीले देशभरका ७७ वटै जिल्ला शाखाका अभिकर्ता सहितको जम्बो टोलीमार्फत रानीमहलको भ्रमण गराएको छ । माघ १३ गतेदेखि भ्रमणमा निस्केको टोलीले १७ गतेसम्म भ्रमण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ३ सय ५० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूले रानीमहलको भ्रमण गरेको कम्पनी पाल्पा शाखाका प्रमुख उमापति गैरेले बताए । उनले भने ‘व्यवसायी प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनीले ल्याएको मासिक योजना अन्तर्गत भ्रमण गरेका हौं, यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा थोरै भए पनि टेवा पुगोस् भन्ने हाम्रो विश्वास हो ।’ कोभिडका कारण सुस्ताएको पाल्पाको पर्यटन क्षेत्र चलायमान होस् भन्ने सोंचका साथ यस पटकको भ्रमण पाल्पाको रानीमहललाई छनौट गर्न सफल भएको प्रमुख गैरेको भनाई छ । उनले पाल्पाको ढाका, करुवा र रानीमहलको प्रचार–प्रसार गर्नुपर्छ भन्ने लागेर रानीमहलाई आकर्षक पर्यटकीय क्षेत्रको रुपमा रोजाइमा पारिएको बताए । शाखा प्रमुख गैरेले भने ‘आफुले विगतदेखि नै पाल्पामा भ्रमण ल्याउन खोजेको तर यहाँका होटलहरुले ४/५ सय जनालाई व्यवस्थापन गर्न नसक्ने भनेपछि ल्याउन सकेका थिएनौं ।’ यस पटक  तानसेनको होटल ताजले त्यसको व्यवस्थापन गर्न सक्छौं भने पछि कार्यक्रम रानीमहल गरिएको उनले बताए । 

पाल्पामा ठूला किसिमका भ्रमणहरु व्यवस्थापन गर्न भौतिक पूर्वाधार निर्माण हुन नसकेकाले पनि होटलहरुलाई व्यवस्थापनमा सकस हुने गरेको छ । होटल ताजका सञ्चालक मुक्तिराम जिसीले ठूला लगानीका होटलहरु सञ्चालन गरे पनि  ठूलो संख्यामा आउने पर्यटकहरुलाई  एकै साथ व्यवस्थापन गर्न सक्ने खालका पूर्वाधार निर्माण नहुँदा केही समस्या हुने गरेको बताए । उनले नेशनल कम्पनीले ३ सय ५० भन्दा बढी पर्यटकहरुलाई खानाको व्यवस्था गरिदिन आग्रह गरेपछि आफुहरुले त्यसको सहज व्यवस्था मिलाएको बताए । पर्यटकहरुलाई ल्याउने लैजाने व्यवस्थापनको संयोजन भने होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुरले गरेको थियो । नेशनल लाइफ कम्पनीले आफ्नो भ्रमणको रोजाई रानीमहलाई पारेको र त्यसको व्यवस्थापनको जिम्मेवारी आफुहरुले लिएको होलिडेका एमडी रोहित कार्कीले बताए । उनले भने भने ‘होलिडे ट्रिपले देशका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । अहिले पाल्पाको रानीमहलको प्रवद्र्धनका लागि हामीले कम्पनीलाई छनौट गर्न आग्रह ग¥यौं, सोही अनुसार रानीमहल हाम्रो रोजाइमा परेको हो ।’ भ्रमण टोलीले रानीमहलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले नेशनल लाईफ कम्पनीले पाल्पाको रानीमहलाई आफ्नो पर्यटकीय गतव्यका रुपमा छनौट गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु ल्याउन आग्रह गरे । उनले यस्ता भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कोभिडका कारण सुस्ताको पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटकमार्फत भए पनि चलायमान बनाउनुपर्ने अहिले आवश्यकता रहेको सांसद रानाले उल्लेख गरे । सांसद रानाले प्रदेश सरकारमार्फत रानीमहल क्षेत्रमा नियमित र्‍याफटिङ गर्न र बर्खाको समयमा समेत पर्यटकहरु त्यहाँ पुग्ने वातावरण सिर्जना गर्न सभाव्यता अध्ययन गरी काम अगाडि बढाइएको समेत बताए ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा रानीमहल पर्ने गरेको छ । तानसेन नगरपालिका–१३ बौघागुम्बास्थित कालीगण्डकी नदी किनारमा रहेको रानीमहल घुम्न आन्तरिक तथा बाÞय पर्यटक पुग्ने गर्दछन् । तत्कालीन जनरल खड्गशमशेरले वि.सं. १९५० मा शिलान्यास गरी चार वर्षमा मन्दिर, पाटीपौवासहित चारतले रानीमहल दरबार निर्माण गरेका हुन् । खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानीमहल नेपालको ताजमहलका रूपमा समेत परिचित छ । कालीगण्डकी नदीको उत्तर मोडमा चट्टानको जगमा पश्चिमी कलाशैलीमा रानीमहल बनेको छ । युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनेको यो महल चारतले छ । रानीमहल वरिपरी बगैंचा र पानीपोखरीले आकर्षण थपेको छ । रानीहलको चारतले भवन र त्यसको वरपरको वातावरणले सबैको मन आनन्दित बन्छ । पुरातात्विक विभागले १० वर्षका लागि रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगर सरकारले यहाँ पुग्ने पर्यटकसँग प्रवेश शुल्क उठाएर आम्दानी व्यवस्थित गरे पनि रानीमहल क्षेत्रलाई थप व्यवस्थित गर्न भने सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update