पाल्पा, तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।
सवारी साधन पार्किङ गर्ने निश्चित ठाउँ नहुँदा नगर क्षेत्रमा ट्राफिक ब्यवस्थापनमा कठिनाई हुने गरेको छ । सडकमा साना, ठूला सवारी साधन आफुखुसी चल्ने र पार्किङ हुने गरेका छन् । तानसेनका विभिन्न स्थानमा जथाभावी पार्किङका कारण ट्राफिक समस्या बढेपछि जनताको गुनासोलाई सम्बोधन गर्न वडा २ का वडाध्यक्ष महेश्वर श्रेष्ठको संयोजकत्वमा अभियान सुरु गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
तानसेनका सम्भावित ठाउँहरुको पहिचान गर्दै पार्किङ र जेब्राक्रस समेत निर्माण गरिएको उनको भनाई छ । ट्राफिक प्रहरीको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा अभियान सञ्चालन गरिएको अभियानका संयोजक श्रेष्ठले बताए । उनका अनुसार अभियानले बाहिरबाट आउने सवारीहरुको व्यवस्थापन गर्न समेत सहज हुनेछ । अभियानले पैदल यात्रीलाई सहज रूपमा सडकमा यात्रा गर्न सहज हुनेछ भने अव्यवस्थित पार्किङका कारण उत्पन्न समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईले बताए । अभियान अन्तर्गत जिल्लाको प्रमुख सडकको रूपमा रहेको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा मार्किङ गरिनेछ । मार्किङ गरेको स्थानमा बाहेक अन्य स्थानमा पार्किङ गरे त्यस्ता चालकले कारवाही भोग्नुपर्ने प्रहरीले जनाएको छ ।