Shittalpati
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

घोराही (दाङ), दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

नेपालीको घर रुन्टिगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर खाएको १० वर्ष भइसकेको मल्लले बताए । नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update