Shittalpati
पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जारी तीन दिने श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराथोक शाखाको आयोजनामा सञ्चालित महायज्ञ शनिबार सकिएको हो ।

समाजमा सकरात्मक सोंच र चिन्तनबाट मात्र तनाव व्यवस्थापन तथा जीवनमा शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान दिने उद्देश्यले माघ १८ गतेदेखि २० गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञ अवधिभर वैज्ञानिक एंव व्यवहारिक प्रवचन दिइएको थियो । भागवद् वाचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले सतोगुणी र असल चरित्र निर्माण गर्न आध्यात्मिक दर्शनमा आधारित बैज्ञानिक एंव व्यवहारिक ईश्वरीय ज्ञान र मनलाई पवित्र बनाउने आधारका  बारेमा जानकारी गराएकी थिइन् । उनले सैद्धान्तिक ज्ञानसँगै राजयोग साधनाका लागि अभ्यास समेत गराईन । कार्यक्रमका संयोजक तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पाल्पाका सचिव  ब्रहमाकुमार भानुप्रकाश पौडेलले सत्य ईश्वरीय ज्ञान र राजयोगको माध्यमबाट जीवनमा आध्यात्मिक एंव भौतिकता दुवैको समन्वय र सन्तुलन स्थापित गर्दै जीवनमा खुुसी, सुुख, शान्ति आनन्दका साथै ईश्वरीय शक्ति एंव वरदान प्राप्तिको अनुभूति गराउने उद्देश्यले महायज्ञ गरिएको बताए ।  उनले भने‘ वर्तमान समय मानवमा व्याप्त चिन्त, तनाव, डिपे्रसन, दुख, भय र असुरक्षाले भड्की रहेको मानव मनद्वारा सिर्जित सर्व समस्याहरुको निरुपण गरी जीवनमा खुसी, सुख, शान्ति आनन्दका साथै ईश्वरीय शक्ति एंव वरदान प्राप्तिको अनुुभूति महायज्ञले गराउने विश्वास लिएका छौं ।’

महायज्ञमा सहभागी हुन स्थानीय, राजनीतिक दल, शैक्षिक, सामाजिक क्षेत्रका उच्चपदस्थ व्यक्तिहरु त्यहाँ पुगेका थिए । कार्यक्रममा सहभागी हुन पुगेका लुम्बिनी प्रदेश सांसद् एवं पूर्वमन्त्री वीरबहादुर रानाले समाजमा मानविय मूल्य मान्यताको विकास गरी सकारात्मक संकल्प र कर्मबाट नै अपराधिक तथा नकारात्मक धारणा र व्यवहार त्याग्न सकिने बताए । उनले सकारात्मक सोंचबाट नै जीवनको सार्थकता प्राप्त गर्न सकिने भएकाले राजयोग, साधना र दिव्य प्रवचन सुन्न सबैलाई आग्रह गरे । उनले भने ‘वर्तमान परिवेशमा महायज्ञले नकारात्मक मनोभावनालाई परिवर्तन गरी असल चरित्रद्वारा समाजमा नैतिक मूल्यवान व्यवहारको विकास गर्न मद्दत गर्ने छ ।’ कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, वडा अध्यक्ष तिर्थप्रसाद भट्टराई लगायतले बेला बेलामा यस्ता कार्यक्रम भएमा तनावबाट ग्रसित मानव समुदायलाई मुक्त गराउन महत्वपूर्ण भूमिका खेल्न सक्नेमा विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई स्थानीय सरकारले आवश्यक सहयोग समेत गर्ने बताए ।

विद्यालय पाल्पा क्षेत्रकी अध्यक्ष  राजयोगिनी÷ब्रहमाकुमारी प्रेमा दिदीको अध्यक्षता, राजयोगी ब्रह्माकुमार शिशिर रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । महायज्ञमा करिव ३ सय बढीले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । महायज्ञको समापनपछि विद्यालयले माघ २१ देखि २७ गतेसम्म योग शिविर समेत सञ्चालन गरेको छ ।   

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update