Shittalpati
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’

पाल्पा, मानव अधिकार तथा शान्ति समाज पाल्पाले रुस–युक्रेन, इजरायल र हमासको युद्वको विरोधमा प्रदर्शन गरेको छ । ‘युद्व निषेध : शान्ति विशेष’ भन्ने अभियान सञ्चालन गरेको समाजले आइतबार तानसेनमा युद्वको विरोध स्वरुप तानसेनमा प्रदर्शन गरेको हो ।

युद्वले अशान्ति फैलाउने भन्दै समाजले शान्तिको बाटो रोज्न सबैलाई आह्वान गर्दै हिंसांत्मक युद्व रोक्न सम्बन्धित राष्ट्रलाई दवाब स्वरुप विरोध प्रदर्शन गरेको जनाएको छ । उसले तानसेनको टुँडिखेल नजिकै सडकमा विरोध प्रदर्शन गर्दै तत्काल युद्व रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता एवं समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले हिंसाले कसैको पनि कल्याण नगर्ने भएकाले शान्तिको बाटो रोज्नुपर्ने बताए । उनले भने ‘हिंसाले सबैको क्षय गर्दछ, भने शान्तिले सबै जगतको जय गर्दछ ।’ वरिष्ठ उपसभापति रावलले मानव अधिकार तथा शान्ति समाज सधै अहिंसाको पक्षमा आवाज उठाउँदै आएको बताए । उनले युक्रेन–रुसको द्वन्द्वले मानविय, भौतिक क्षति मात्र नभई नेपाली उपभोक्ताको भान्सामा समेत प्रत्यक्ष असर पु¥याएकाले तत्काल शान्तिको बाटो अवलम्बन गरी द्वन्द्व रोक्नुपर्नेमा जोड दिए । उपसभापति रावलले इजरायल र हमासको युद्वमा ठूलो संख्यामा नेपालीले समेत ज्यान गुमाउनु परेको र केही बेपत्ता पारिएको भन्दै त्यस खालको युद्व रोक्नुपर्ने बताए । उनले हमास आक्रमणमा नेपाली विपिन जोशी लगायतका व्यक्तिहरु बन्धक बनाइएका सबैलाई विना सर्त रिहा गर्न समेत सम्बन्धित निकायकलाई आग्रह गरे । केन्द्रीय उसभापति रावलले संयुक्त राष्ट्र संघले हिंसात्मक युद्वलाई तत्काल रोक्न आवश्यक पहल गर्न जरुरी रहेको समेत उल्लेख गरे ।  

कार्यक्रममा समाजका केन्द्रीय सदस्य अरुण ज्ञवालीले देशहरु एक आपसमा मिलेर गए मात्र विश्व शान्ति कायम हुने भन्दै हिंसांत्मक बाटो बन्द गर्न सम्बन्धित राष्ट्रलाई आग्रह गरे ।  प्रदर्शनमा रुसः अति भयो युद्व तत्काल अन्त्य गर, रुसः युक्रेनमाथि आक्रमण बन्द गर, रुसः युद्व रोक, शान्ति रोज, रुसी सेनामा नेपालीलाई भर्ती गर्ने र युद्वमा प्रयोग गर्ने कार्य बन्द गर, इजरायलः तत्काल युद्वविराम गर, इजरायलः मानवता विरुद्धको अपराध बन्द गर, हमासः आतंकवाद बन्द गर, हमास : विपिन जोशी लगायत बन्धक बनाएका सबैलाई बिना सर्त रिहा गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएर विरोध प्रदर्शन गरिएको थियो । कार्यक्रम समाजका कार्यवाहक सभापति सन्तवीर बरालको अध्यक्षता, सदस्य सुनिलबहादुर थापाको स्वागत, सचिव शुसिला रेग्मीको सञ्चालनमा भएको थियो । समाजले यस अघि साताव्यापी कार्यक्रमको आयोजना गरी तानसेनमा एनसेल घोटला प्रकरणको विरोध समेत गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update