Shittalpati
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना

भरत शर्मा
पाल्पा,
जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’को स्थापना गरिएको छ । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारको सहयोगमा कक्ष स्थापना गरिएको हो । कक्षको लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।

कक्षको सुभारम्भ गर्दै सांसद रानाले लामो दुरीको सवारी चलाउँदा चालकको मानसिक र शारिरीक अवस्था बुझ्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ महत्वपूर्ण रहने बताए । उनले चालकले मोबाइलबाट कुरा गर्दै सवारी हाक्ने प्रचलन अत्याधिक बढेका कारण यात्रु संशकित हुने गरेको बताउँदै चालकको असावधानीका कारण अत्यधिक दुर्घटना बढेकाले त्यसलाई रोक्न जरुरी रहेको धारणा व्यक्त गरे । सासंद रानाले टिपरको अत्यधिक गति र ओभर लोडलाई नियन्त्रण गर्ने विषयमा प्रहरी चनाखो बन्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्व शर्माले राज्यले बनाएको नीति नियम पालनामा सबै सरोकारवालाको  ध्यान पुग्न जरुरी रहेको बताउँदै प्रहरी सदैव नागरिकको सेवा र सुरक्षामा कटिवद्ध रहने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले सडक दुर्घटनाका कारण धेरैको अकालमा ज्यान गुमेको  भन्दै यसको न्युनीकणका लागि प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको बताए ।

तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जनले कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य कक्षमा प्राथमिक उपचारका लागि चाहिने सामग्रीका साथै स्वास्थ्यकर्मीबाट चालक, सहचालक र यात्रुको स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ । चालकको स्वास्थ्य समस्या र असावधानीका कारण कतिपय दुर्घटना हुने हुदाँ चालकसहित  सवारी धनी र यात्रुलाई समेत सचेतनाका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश सरकारको सहयोग, स्वास्थ्य कार्यालयको समन्वय, तानसेन नगरपालिका र जिल्ला प्रहरी कार्यलयको सहर्कायमा कक्ष स्थापना गरिएको हो ।  

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update