Shittalpati
संघीय संसद्को हिउँदे अधिवेशन सुरू

पाल्पा, संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका छन् । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् । सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए । उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे । अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update