Shittalpati
संसद् अधिवेशनप्रतिको अपेक्षा

संवैधानिक प्रावधानअनुरूप सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ । जसअनुसार अहिले हिउँदे अधिवेश सुरु भएको हो । संसद्को हिउँदे अधिवेशनलाई आमरूपमा विधेयक अधिवेशन मानिन्छ । तर, विडम्बना के छ भने अघिल्लो हिउँदे अधिवेशन एउटा पनि विधेयक पारित नगरी समापन भएको थियो । यसपाली बजेट अधिवेशन सकिएको तीन महिनापछि संसद् अधिवेशन सुरु भएको छ। यो अधिवेशनमा ‘प्रिबजेट’ छलफल गराउने देखि मुलुकका जल्दाबल्दा सामयिक मामिलामा छलफल गर्ने, सरकारको निगरानी गर्ने र आवश्यक निर्देशन दिनेजस्ता नियमित जिम्मेवारी रहेका छन् ।

अधिवेशनलाई थप व्यवस्थित बनाउनुपर्ने अहिलेको आवश्यकता हो । यसलाई सांसदहरूको लागि पनि सिक्ने थलोका रूपमा लिने हो भने उनीहरूले पनि हिजोका कमी कमजोरीलाई सच्याउने र नयाँ–नयाँ कार्यायोजनाका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाउनै पर्छ । त्यसै भएर हुनसक्छ अब संघीय संसद क्यालेण्डर बनाएर अगाडि बढ्ने भएको छ । यसो हुँदा संसद् नियमित र प्रभावकारी रूपमा सञ्चालन होला भन्ने अपेक्षा गर्न सकिन्छ । वास्तवमा संसद् भनको ऐन कानुन बनाउने थलो हो । यो सामान्य ठाउँ होइन । ख्याल ठट्टा र कलह झगडा गर्ने ठाउँ पनि होइन । राष्ट्रलाई आवश्यक पर्ने ऐन कानुन बनाउने थलो हो । तर  आम जनाले भने एकले अर्कालाई दोषारोपण लगाउने, निदाउने र घुर्ने, टेवुल ठटाउने जस्ता काम गर्ने थलो हो भनेर जनताले संसद्लाई लिने गरेका छन् । जनताको यस धारणामा परिवर्तन आउने गरी संघीय संसद्को चालु अधिवेशनले काम गरेर देखाउनुपर्छ । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै संसदलाई प्रभावकारी र नतिजामुखी बनाउने दिशामा सभामुख देवराज घिमिरेको जोड छ । उनले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ भन्ने अभिव्यक्तिले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update