Shittalpati
प्रतिनिधि सभा बैठक  : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

पाल्पा, प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषय, विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले गत आर्थिक वर्षमा काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताए । उनले भने–‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको नै हो । किनकी गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको पेमेन्ट अहिले पनि गरेको छैन । नयाँ काम सुरु भएको छैन ।’ सांसद अच्युतप्रसाद मैनालीले सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा पुँजीगत शीर्षकमा १७ प्रतिशत बराबर मात्रै खर्च भएको विषय उठाए । विभिन्न सडकखण्ड तथा विकास पूर्वाधार आयोजनाको जग्गाको मुआब्जा वितरण गरिनुपर्ने उनले सरकारसँग माग गरे ।

सांसद अमनलाल मोदीले सहकारीमा जनताले बचत गरेका पैसाको दुरुपयोग भइरहेको भन्दै देशभरका सहकारी संस्थाहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । उनले छानबिन गरी दोषि उपर कारवाही गर्नुपर्ने पनि बताए । सांसद मोदीले भने ‘देशैभरी जनताले खाइ नखाइ आफ्नो श्रम, पसिनाबाट आर्जित गरेको पैसा वचत गर्छ । तर ति वचतहरु, लाखौँलाख जनताको पैसाहरु दुरुपयोग भइराखेको छ । ति पैसाहरु न जनताले फिर्ता पाएका छन्, न सम्बन्धित मान्छेहरुले कारवाही भोगेका छन् । म विशेष आग्रह गर्न चाहन्छु सरकारलाई, देशैभरीको सहकारी संस्थालाई छानविनको दायरामा ल्याएर जनताको पैसा फिर्ता गर्नुपर्छ ।’ नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे । भण्डारीले एकले अर्काको अधिकार प्रयो गर्ने हो भने व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता नभएको बताए । सांसद असिम साहले पुष १३ गते ललितपुरको बालकुमारी र सर्लाहीमा युवकहरुको ज्यान गुमाएको सम्बन्धमा छानबिन गर्न गठिन आयोगहरु मौन बसिरहेका भन्दै प्रश्न गरे । उनले घटनाको छानवीन गरी प्रतिवेदन पेश गर्न आग्रह समेत गरे ।

सांसद साहले सम्झौता अनुरुपको क्षतिपूर्ति नदिइएको भन्दै त्यसप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चित्रबहादुर केसीले भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग निर्माणको कामले गति लिन नसकेको तथा ती आयोजनामा काम गरेका निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन नसकेको बताए । सांसद अम्मरबहादुर रायमाझीले विकास खर्च न्यून देखिएको उल्लेख गर्दै पूर्वाधार आयोजना ठप्प प्रायः रहेको बताए । निर्माणाधीन आयोजनाको काम चाँडो गरिनुपर्ने उनको माग छ । सांसद ईश्वरी घर्तीले देशमा आन्तरिक बसाईसराइको अवस्था चिन्ताजनक भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधार र विकासको अभाव तथा शिक्षा, स्वास्थ्य र बेरोजगारीका कारण बसाईसराइ भइरहेको भन्दै यसतर्फ पनि सकारको ध्यानाकर्षण गराए । सांसद उर्मिला माझीले नेपालको न्यायपालिका भ्रष्ट र परिवर्तन बिरोधी बनेको बताइन् । उनले सुशासन कायम गर्ने सरकारको कदममा न्यायपालिका बाधक बनेको  धारणा व्यक्त गरिन् । सांसद गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक, गतिहिन र जवाफदेहिता विहीन भएको बताए । सांसद अञ्जनी श्रेष्ठले प्रस्तावित निजगढ–हेटौँडा–भरतपुर विद्युतीय रेलमार्ग निर्माण गर्दा मानववस्ती र घना आवासीय क्षेत्रमा असर पर्ने देखिएकाले अर्को विकल्प खोजिनुपर्ने धारणा राखिन् । 

सांसद अनिसा नेपालीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिस्पर्धी, व्यावसायिक र आधुनिक बनाउन आवश्यक रहेको बताइन् । बर्दिया जिल्लामा बाघको आक्रमणको त्रास रहेको विषय सांसद अब्दुल खांनले उठाए । सांसद अशोक चौधरीले समावेशिताको अधिकार थारु समुदायले उपयोग गर्न नपाएको बताए । सांसद ज्वाला कुमारी साहले ललितपुर घटनाको दोषी पत्ता लगाई कारबाही गरिनुपर्ने बताइन् । सांसद ईश्वरबहादुर रिजालले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भनी विगतका सरकारले गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे बताए । भूमिहीन र सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर हुन नसकेको विषय सांसद ऋषिकेश पोखरेलले उठाए । सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट अवैध सुन भित्रिने गरेको, अध्यागमनका कर्मचारी नै भिजिट भिसामा विदेश पठाउन संलग्न भएको तथा त्यहाँ कर्मचारी र प्रहरीबीच मनमुटावका विषयमा गम्भीर भएर छानबिन गरिनुपर्ने बताए । सांसद किरणकुमार साहले आरती साहलाई न्याय दिलाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय क्रिकेट टोली र अण्डर–१९ क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको पुरस्कार राशि तत्काल उपलब्ध गराउन सांसद गणेश पराजुलीले सरकारसँग माग गरे । सांसद गोमा लाभ सापकोटाले अहिले पनि विद्यालय जाने उमेर समूहको करिब साढे आठ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भइरहेको विषय उठाइन् । सांसद गंगाप्रसाद यादवले सिरहा जिल्लामा लागुऔषध कारोबार बढेको विषयमा सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद जावेदा खातुनले बर्दिया जिल्लामा भारतसँगको खुला सीमाका कारण मानवतस्कर र लागुऔषध कारोबार बढेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update