समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय भनेकै सहकारी हो । तर पछिल्लो समय सहकारीको परिभाषा त्यसो हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ । सहकारीमार्फत सर्वसाधारण ठगिएको, सहकारी सञ्चालकले बदमासी गरेको समाचार नियमित आइरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । विगतमा सहकारी अभियान जुन रुपमा अगाडि बढेको थियो त्यो अहिले हुुन सकेको छैन । सहकारी क्षेत्रमा अहिले अनेक समस्या देखिने गरेका छन्, जसले गर्दा पूरै सहकारी क्षेत्र नै बदनाम हुने खतरा बढेको छ । जुन उद्देश्यका साथ सहकारीलाई व्यापक बनाइएको थियो त्यसतर्फ सहकारी अभियान अघि बढ्न नसकेको सत्य हो । तर, किन यस्तो भइरहेको छ भनेर गम्भीर रूपमा अध्ययन, विश्लेषण गरिएको पाइँदैन । अवस्था यस्तै रहने हो भने सहकारीमा समस्या थपिँदै जान्छन् नै, सँगै राज्यको तीनखम्बे नीतिले काम नगरेर अर्थतन्त्रमा समेत समस्या आउँछ ।
सहकारी डुब्नुमा सदस्यको बेवास्ता र सचेतनाको अभाव कारण पनि हो । सहकारीको लगानी कहाँकहाँ छ भनेर सदस्यले बेला बेलामा बुझ्ने र त्यसबारे प्रश्न उठाउने हो भने सहकारीमा सुशासन कायम हुन जान्छ । मुनाफा आएपछि दंग परेर बेवास्ता गर्दा नै सहकारीमा समस्या आएको हो । दुःखजिलो गरी भोलिका लागि साँचोमुचो गर्नेहरूकै पैसा सहकारीका कर्मचारी वा तिनका सञ्चालकको बदमासीले डुब्ने गरेको छ । त्यसो त हुनेखानेहरू पनि नडुबेका होइनन् । जाली फटाहा सञ्चालकहरूमा मुलुकले आसै गरेका प्रतिष्ठित व्यक्तिहरू पनि परेका छन्, र त्यही प्रतिष्ठाका आडमा अरूलाई डुबाएका छन् । सहकारी संस्थाहरूले कहीं कतै पनि उत्पादनमूलक क्षेत्र बाहेक अन्यत्र ऋण प्रवाह गर्नै हुँदैन । तर, भएको के छ भने उद्देश्य विपरीत सदस्यको बचतको परिचालन गरेर घरजग्गाको कारोबार गर्ने, गैरवित्तीय सम्पत्तिमा लगानी गर्ने जस्ता कार्यका कारण पनि दिनानुदिन संकट बढ्दै गएको छ । समय दिन नसक्ने, अतिरिक्त लाभको चाहना राख्ने सञ्चालकहरू सहकारीको नेतृत्वमा आउनै हुँदैन । सहकारी भनेको समाजवादी अर्थव्यवस्थाको परिकल्पना भएकाले यसमा अतिरिक्त लाभको इच्छा कदापि राख्नुहुँदैन । यस्तो इच्छा राख्नु भनेको प्राइभेट कम्पनी चलाउन खोज्नु हो । सहकारीको कार्य सदस्यलाई सानो रकम परिचालन गरेर उत्पादनका लागि जोडिन प्रोत्साहन गर्ने हो । त्यस्ता सदस्यलाई आवश्यकताको आधारमा विना धितो ऋण दिनु सहकारीको दायित्व हो तर यसो भन्दैमा ठूलो ऋण समेत विना धितो परिचालन गर्ने, धितो मूल्यांकनमा अनावश्यक चासो दिने, मूल्यांकन रकमको मार्जिन नकटाई लगानी गर्ने जस्ता कारणले लगानी भएका ऋण समेत जोखिममा छ । तसर्थ त्यसतर्फ सहकारी अभियान्ताहरुले गम्भीर भएर सोच्न जरुरी छ ।