Shittalpati
नेपाललेद्वारा क्यानडा पराजित

काठमाडौं, क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आज भएको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । अनिलले १९ बलमै ५० रन बनाए । उनले  ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए ।  यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र  आशिफ शेखले १० रन बनाए । सोमपाल कामी र कुशल मल्ला समान९÷९ रनमा नटआउट रहे । आज भएको जितसँगै तीन खेलको शृङ्ख्ला नेपालले एक खेलअघि नै जितेको छ । 
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए । बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २÷२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकाश चन्दले एक÷एक विकेट लिए । आकाश चन्दले सिनियर टोलीमा आजनै डेब्यु गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update