Shittalpati
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल 

पाल्पा, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार कार्यशाला गोष्ठीलाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष लम्सालले सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी  कुनै पनि काम नहुने बताएका हुन् ।  

उनले प्रेस युनियनका कुनै पनि सदस्यले पत्रकार महासंघको सदस्यताका लागि  मापदण्ड पुरा गरेर दावी गरेको छ भने उसले कुनै पनि अपमान र अन्याय भोग्न नपर्ने  धारणा व्यक्त गरे । अध्यक्ष लम्सालले भने ‘म प्रेस युनियनको केन्द्रिय अध्यक्ष हुँ, मेरो  संगठनको कुनै  साधारण सदस्यले  पत्रकार महासंघको लागि दावी गरेको छ, मापदण्ड पुरा गरेर निवेदन दिएको छ, आग्रह –पूर्वाग्रहको आधारमा सदस्यता दिइएको छैन्, नविरकरण गरिएको छैन् र शुद्धिकरणका नाममा कसैलाई अपमान गरेर छुटेको छ भने त्यसलाई जस्ता तस्तै सदस्यता दिने बनाउने जिम्मेवारी मेरो हो र म त्यो गर्छु, तपाई त्यसमा विश्वस्त हुनुहोस् ।’ गैर पत्रकारहरुको हातमा पत्रकार महासंघ जाला भन्ने डरले सुर्खेतको साधारण सभामा सदस्यता शुद्धिकरणको प्रस्ताव राखेको उनले बताए ।

अध्यक्ष लम्सालले भने ‘मेनस्टिममा काम गर्ने पत्रकारहरुलाई त फल्नो सहकारीमा काम गर्छ, फल्नो बोडिङ्गमा पढाउन्छस्  भन्ने आधारमा सदस्यताबाट बञ्चित गराउनु शुद्धिकरणको प्रयास हैन ।’ यदि  न्यायोचित ढंगबाट सदस्यता शुद्धिकरण भएन भने हामी जुन मतदाता नामवलीमा विपुल पोखरेल र रोसन पुरीलाई चुनाव जिताएका थियौं त्यही मतदाता नामवलीमा फर्काउन प्रेस युनियन पछि नपर्ने समेत उनले उल्लेख गर्दै भने‘ त्यसैले तपाई ढुक्क भएर बस्नुहोस् पत्रकार महासंघको सदस्य शुद्धिकरणका विषयमा कसैलाई अपमान र अन्याय हुने गरी काम हुँदैन् ।’ अध्यक्ष लम्सालले संगठनको मर्म अनुसार काम गर्न प्रेस युनियनका जिल्ला अध्यक्षहरुलाई आग्रह गरे । उनले भने ‘संगठनले गरेका हरेक गतिविधिहरु केन्द्रलाई जानकारी गराउँनुपर्छ । संगठनलाई चलायमान बनाउन देशभर यो वर्षलाई प्रशिक्षणको वर्षको बनाउँदै छौं ।’

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देश निर्माणमा पत्रकार जंगतको महत्वपूर्ण योगदान रहेको बताए । उनले पछिल्लो समय मुलुक गलत ढंगले अगाडि बढेको भन्दै त्यसलाई सही दिशामा ल्याउन पत्रकाहरु समेत सही ढंगले अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे ।  सभापति श्रेष्ठले भने‘ देशको चौैथो अंगको रुपमा रहेको प्रेस जंगतले राजनीतिक दल र सरकारलाई सही ट्रयाक्मा ल्याउन सही ढंगलले अगाडि बढ्नुपर्छ ।’ लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले  लोक कल्याणकारी विज्ञापन, मिडियामा देखिएका समस्याहरु, ऐन, कानुन बनाउने दिशामा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताए । उनले सञ्चार जगत महत्वपूर्ण रहेको उल्लेख गरे । सचिव कवारीले भने‘ प्रदेश सरकार पत्रकारहरु प्रति सकरात्मक छ,त्यसैले पत्रकारहरु समेत सकरात्मक भईदिनुहोस् ।’

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षहरु, जीवन भण्डारी, माधव अर्याल, युनियनका केन्द्रिय महासचिव दिलिप पौड्याल, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, युनियनका सल्लाहकार झपेन्द्र गहिरे लगायतले आ– आफ्ना धारणा राखेका थिए । कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका  अध्यक्ष सुदिप गौतमले लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकारका बारेमा प्रस्तुती राखेका थिए । उनले प्रदेश सरकारले मिडिया सम्बन्धी ऐन ल्याए पनि त्यो मिडियामैत्री बन्न नसकेको बताए । उनले  भने‘ प्रदेश सरकारले मिडिया ऐन ल्याएको छ तर त्यसले मिडियालाई नै ठगेको छ ।’ युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले कार्यक्रम माथि प्रकाश पार्दै पत्रकारको अधिकार सुनिश्चित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । गोष्ठीमा प्रदेश भित्रका प्रतिनिधिमूलक पत्रकारहरुको उपस्थिती रहेको थियो । युनियन पाल्पा शाखाकी अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।     


      

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update