राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् । संघीय शासन प्रणाली आएपछि नेताहरूको चरित्र र आचरणमा सुधार आई विशुद्ध समाजसेवामा आफुलाई समर्पित गराउन्छन् भन्ने विश्वाससमेत जनतामा थियो । तर, जनताका यी सबै आशा र विश्वासलाई राजनीतिक नेतृत्वले लगातार कुठाराघात गर्दै आइरहेका छन् । जसका कारण राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ । आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको विषयलाई राजनीतिक दल र नेताहरूले कहिल्यै पनि प्राथमिकतामा राख्न सकेनन् । आफ्नै स्वार्थ सेक्ने, स्वार्थ र अवसरका लागि जस्तासुकै हर्कत गर्न पनि पछि नपर्ने प्रवृत्तिले नेपालको राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ ।
सत्ताका लागि महिनैपिच्छे फरक–फरक गठबन्धन बन्छन् तर ती गठबन्धनले जनताको चहराइरहेको घाउमा मलमपट्टी लगाउनेतर्फ कहिल्यै पनि सोचेको देखिएन । उल्टो भ्रष्टाचार गर्नमै उनीहरू लिप्त देखिन्छन् । संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार भ्रष्टाचारको दलदलमा फस्न पुगेका छन् । विगतदेखि नै संरचनागत प्रणाली र व्यवहारमा देखिएका भ्रष्टाचारजन्य प्रवृत्तिका कारण सुशासन कमजोर हुँदै गएको छ । यतिसम्म कि राजनीतिक दल र तिनका नेताहरूको गलत संस्कार र भ्रष्ट प्रवृत्तिका कारण यति छोटो समयमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजिनुपर्ने आवाजहरू उठिरहेका छन् । जुन निकै दुःखद् हो । बढ्दो महँगीका कारण जनता बिहान र बेलुकी के खाउँ भन्ने समस्याले प्रताडित भएका छन् । यस्तो अवस्थामा सरकार र राजनीतिक दल गम्भीर बन्न सकिरहेका छैनन् । जसकाकारण धेरै जनताको मन दुखेको छ । त्यस्तो अवस्थामा सरकार र प्रमुख दलहरू सच्चिएर अगाडि बढ्नुको विकल्प छैन । तसर्थ निराशामा परिणत भएका जनताहरुमा सरकार र दलहरुले आशा जगाउने काम गर्न जरुरी छ ।