Shittalpati
जनयुद्व दिवसको सार्थकता

माओवादीले सशस्त्र युद्वको सुरुवात गरेको दिनलाई जनयुद्व दिवसका रुपमा लिने गरेको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि आजकै दिन सशस्त्र युद्व सुरु गरेको थियो । सोही दिनलाई जनयुद्व दिवसको रुपमा मनाउने गरिएको हो । सरकारले जनयुद्व दिवसको स्मरण गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने यस अघि घोषणा गरेको थियो । तर सर्वोच्च अदालतले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावनामा चोट पर्नसक्ने भन्दै बिदा दिने निर्णय खारेज गरेको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गते रोल्पा र सिन्धुलीको एक÷एकवटा प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्व सुरु गरिएको थियो । त्यसयता प्रत्येक वर्ष माओवादीले फागुन १ लाई जनयुद्व दिवसको रूपमा स्मरण गर्दै आएको छ । युद्वको नेतृत्व गरिरहेको माओवादी २०६३ मंसिर ५ गते शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा आएपछि अनेकौँ राजनीतिक उत्तारचढाव आइसकेको छ । यसबीचमा माओवादी पार्टीले टुटफुट र एकताका अनेकौँ शृङ्खला पार गरेको छ । यही टुटफुट र एकताको प्रक्रिया पार गरिरहँदा जनयुद्व दिवसले पनि कहिले निकै महत्व पाउने त कहिले चर्चा विहीन हुने क्रम चलिरहेको छ । 

संघीय गणतान्त्रिक संविधान लेखनको बेला पनि ‘जनयुद्व’ शब्द स्वीकार्ने र अस्वीकार गर्ने पक्षबीच निकै ठूलो रस्साकस्सी चलेको थियो । अन्ततः सरकारी दस्तावेजहरूमा यसलाई ‘सशस्त्र द्वन्द्व’ भन्ने सहमति भएको थियो । यद्यपि युद्वको नेतृत्व गरेको माओवादीले भने करिब १० वर्ष चलेको यो युद्वलाई ‘जनयुद्व’कै रूपमा व्याख्या गर्दै आएको छ । युद्वका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । माओवादी जनयुद्वले जनतामा चेतनाको एउटा दियो बालेको कुरा स्वीकार्य छ । सम्मानित छ तर जनताले कत्रो आशा राखेका थिए, आखिर त्यही संघर्ष गरेको भनिएको पाटी नै आज धुजा–धुजा भएर च्यातिन पुग्यो । केवल सम्मान, सम्पत्ति र शक्तिका लागि । अधिकारको बाँडफाँडमा जहानिया शैलीलाई त्याग्ने हिम्मत पनि देखिएन । सत्तालिप्सा र स्वार्थले जनताको बिल्लिबाठ पारेर जुन नेता जङ्गलमा बस्थे, लुक्थे, ज्यान जोगाउँथे आज तिनै वरिपरि सुरक्षागार्ड राखेर गाडीमा हिँड्छन् । तर जनताले चाहेको आशामा निराशा परिणत भएको छ । हिजोको सङ्क्रणकालीन घाउ र संविधानको निर्माणसम्म पीडितमा आशा थियो । तर अहिले त्यही माओवादी सत्तामा पुगे पनि जनता निराशा हुनु बाहेक केही छैन । युद्वले पोलेको घाउमा अब मलम लगाइनु आवश्यक छ । यसो गर्न सकियो भने मात्र पनि दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update