Shittalpati
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं

पाल्पा, आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।

रोमन साम्राज्यमा युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएको अवस्थामा त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ । उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । विषेश गरी युवा युवतीले उत्सवकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ ।

प्रेम सम्बन्धमा रहेका युवायुवती मात्र होइन, प्रेम गर्ने तरखरमा रहेका युवायुवतीका लागि पनि भ्यालेन्टाइन डे को दिन विशेष हुनेगर्छ । यस दिन युवायुवती आफूले मन पराएको व्यक्तिलाई रातो गुलाफको फूल, चकलेट, कार्ड र उपहारहरू दिने गर्छन् । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान हुन्छ । यसलाई प्रेम/प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गरेमा प्रेम प्रस्ताव स्वीकार गरेको बुझिन्छ । गुलाफी रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक हो । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो । हिजोआज युवायुवती मात्र होइन, वयस्क जोडी पनि यो विशेष अवसरमा आफ्ना पार्टनरलाई विशेष उपहार दिने, सँगै पार्कमा घुम्न जाने, सँगै डिनर गर्न जाने आदि गर्दछन् । प्रणय दिवसका अवसरमा सयौँ जोडी पाल्पाको रानीमहल पुग्ने गर्दछन् । रानीमहलसँगै यहाँका श्रीनगरडाँडा, रामचेडाँडा, तालपोखरा, सिद्धबाबा क्षेत्र भुजात लगायतका अन्य स्थलमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update