Shittalpati
पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी

पाल्पा, विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी बुधबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए । सरस्वतीको पूजा आराधना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अवसरमा पाल्पासहित देशभरका सरस्वती, देवी मन्दिर र विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको थियो ।

पाल्पाका  विभिन्न विद्यालयहरुमा नयाँ बालबालिकाहरुलाई सरस्वतीको पूजासँगै अक्षराम्भ गराइएको छ । तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले नयाँ बालबालिकाहरुलाई अक्षरारम्भ गराएको छ । २ वर्षदेखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई अक्षराम्भ गराइएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । बालबालिकालाई कापी, पाटी र ल्याप्टपमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको थियो । तानसेनको न्यू होराइजन इङ्गलिस बोडिङ्ग स्कुलले पनि नयाँ बालबालिकाहरुलाई अक्षरारम्भ गराएको शिक्षक राजेन्द्र लिगलले जानकारी दिए ।

यस्तै अन्य विद्यालयहरुले समेत विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयहरुले जनाएका छन् । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर यस दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको हो । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । सो अवसरमा विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम गरेका छन् । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update