Shittalpati
रामपुरमा कुकुरको स्थायी बन्ध्याकरण

पाल्पा, जिल्लाको रामपुरमा सामुदायिक कुकुरको व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण गरिएको छ । कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि शिविरमार्फत बन्ध्याकरण गरिएको हो ।

रामपुर नगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थनगर रुपन्देहीको प्राविधिक सहयोगमा दुई दिने शिविर सञ्चालन गरी एक सय १० वटा कुकरको बन्ध्याकरण गरिएको  नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले जानकारी दिए । कुकुरबाट पशु चौपायासँगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न सक्ने भएपछि यस्तो शिविर सञ्चालन गरिएको उनले बताए । शिविरबाट नगरको मुख्य बजार क्षेत्रका १ सय १० सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज भ्याक्सिन दिइएको पशु शाखा प्रमुख तुलसीराम काफ्ले जानकारी दिए । समुदायमा रहेका कुकुरले पशु चौपायासँगै मानिसलाई समेत आक्रमण गर्ने क्रम बढे पछि व्यवस्थापनसंगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिन दिन शिविर चलाइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरी कार्यक्रम गरेको र आगामी वर्षमा पनि विभिन्न वडामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने उनको भनाई छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका उपसचिव अर्विन दवादीले टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार पश्चात नियन्त्रण लिइएको स्थानमै छाडिएको जानकारी दिए । 

शिविरमा पशु चिकित्सक डाक्टर सन्दिप भट्टराई र गंगा यादवको नेतृत्वको टोलीले सेवा प्रदान गरेको थियो । नगरपालिकाले बन्ध्याकरण शिविर सञ्चालनका लागि ३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक बर्ष २०८०/०८१ का लागि विनियोजन गरेको बजेटबाट शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि गत बर्षदेखि नै बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत वर्ष शिविर मार्फत ८७ वटा कुकुरको बन्ध्याकरण गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update