पाल्पा, सिद्धार्थ राजमार्गको डुम्रेबाट पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाने क्रममा चिदिस लुम्पेकडाँडामा मंगलबार साँझा भएको कहाली लाग्दो जिप दुर्घटनामा १० जना यात्रुको ज्यान गयो । यात्रुले खचाखच भरिएको लु १ ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटना हुँदा १० जनाको अकालमै ज्यान गएको हो, भने १८ जना घाइते भए । पाल्पाको कहालीलाग्दो यो घटनाले सबैको मन अमिलो भइरहेका बेला बिहीबार विहान पुनःमहेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु– प– प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाले अकालमै ज्यान गुमाउनु पर्यो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किसन भट्टले दुर्घटनामा ज्यान गुमाउनु पर्यो । त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टले पनि सोही घटनामा ज्यान गुमाए । दुर्घटनामा ३० जना घाइते भएका छन् । दुई दिनको फरकमा यी छुट्टाछुट्टै दुर्घटनाबाट २० जनाले अकालमै ज्यान मात्र गुमाएनन् घाइते भएका ४८ जना मध्ये कयौँ व्यक्तिहरु अङ्गभङ्ग समेत भए । यस्ता शृङ्खलाबद्ध अप्रिय समाचारले नेपालीलाई शोकमग्न बनायो । सडक दुर्घटनाको पीडा मृत्यु हुनेहरूलाई मृत्युवरण हुनुभन्दा पहिले र आफन्तलाई मृत्युको खबरले कति हुन्छ भन्ने कुरा झन् अकल्पनीय छ । दुर्घटनाका बेलामा समीक्षा हुने, दुर्घटनाका कारण पत्ता लगाउन अध्ययन हुने अनि बिर्सिइने प्रचलन छ । कम्तीमा ती अध्ययनका निष्कर्षहरू प्रभावकारी ढंगले पछ्याउने हो भने यस्ता खाले दुःखद् खबरसँगको साक्षात्कार सायद कम हुन्थ्यो । विडम्बना के छ भने अध्ययन गरिन्छन्, कारणहरू पनि पत्ता लाग्छन् तर कार्यान्वयन हुँदैनन् । जसले गर्दा उही र उस्तै प्रकृतिका त्रुटि दोहोरिन्छन् र निर्दोषहरू अनाहकमा मारिन्छन् । पछिल्लो दुर्घटनाको प्रारम्भिक खबर हेर्दा पनि चालकको त्रुटि हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सवारी नियमको उल्लंघन गर्ने, सडकको कमजोर पूर्वाधार, चालकको लापरबाही, सवारी साधनको सिन्डिकेट, प्राविधिक रूपमा चलाउन नमिल्ने अवस्थामा पुगेको सवारी साधन, त्यसमा पनि क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति जस्ता कारण दुर्घटना बढेको तथ्य यसअघिका कयौं दृष्टान्तले पुष्टि भइसकेको छ । मानवीय कमजोरी वा सडकको कमजोर अवस्थाका कारण हुनसक्ने दुर्घटना के कसरी र कुन बेला आउँछ भन्न सकिने विषय होइन । त्यसकारण हरपल यसमा सचेत हुनुको विकल्प हामीसँग छैन । यात्रु, चालक, व्यवसायी, सरकार सबैले दुर्घटना कम गराउन आ–आफ्नो ठाउँबाट सचेत र सजग हुनुपर्ने देखिन्छ ।