Shittalpati
पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी

पाल्पा, पाल्पामा नेपाल नियमित रक्तदाता संघ गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले रक्तदाता संघ पाल्पा शाखा गठन गरेको हो । संघको अध्यक्ष (संयोजक) मा वरिष्ठ पत्रकार भगवान भण्डारी चयन भएका छन् । भेलाले नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, सामाजिक अभियान्ता तथा मानवअधिकारकर्मी भण्डारीलाई संघको नेतृत्व प्रदान गरेको हो ।

पछिल्लो समय भण्डारी गरिब, विपन्न, असहाय र समस्यामा परेका नागरिकको उद्दारमा सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने काममा सक्रिय बन्दै आएका छन् । उनी मानव अधिकार संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य, जिल्लास्तरीय मानव अधिकार रक्षक सञ्जालको संयोजक समेत हुन् । लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध उनले जिल्लामा रगत अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ संघ गठनका लागि पहल गर्दै आएका थिए । अन्ततः भण्डारीकै नेतृत्वमा संघ गठन गर्ने कार्यले सार्थकता प्राप्त गरेको छ । अध्यक्षको जिम्मेवारी पाएसँगै उनले जिल्लामा हुने दुर्घटनाका घाइते हुन वा अन्य बिरामीहरुका लागि आवश्यक पर्ने रगत व्यवस्थापनमा सहजीकरण गर्ने बताए । भण्डारीले भने ‘पछिल्लो समय रक्तदान गर्ने दाताहरुको संख्या उल्लेखीय मात्रमा बढेको छ तर उनीहरुलाई व्यवस्थापन गरेर उचित ढंगले रगत संकलन गर्न सकिएको छैन, जसले गर्दा बेला–बेलामा जिल्लामा रगत अभावका खबरहरु आउने गरेका छन् । त्यस्ता समस्या समाधान गर्न अब हामी तदारुकताका साथ लागि पर्छौं ।’ जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासँगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउनुको साथै रक्तदाताहरुको सूचि तयार गरी ब्लड बैंक स्थापना गर्ने गरी संघले काम गर्ने समेत अध्यक्ष भण्डारीले बताए ।

भेलाले भण्डारीको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको  हो । संघको सदस्यहरुमा दिपेन्द्र थापा (दिपु), सचिन सिलवाल, सुमन खाती, सुदर्शन पाण्डे, कमल ज्ञवाली, युवराज राना, अर्जुन कार्की, भवानी गौतम, तुलसी गैरे, नविन खाती, नारायण न्यौपाने, सुमन शाक्य, प्रदिपराज शाक्य, दिलबहादुर राना, राजकुमार लोहनी, श्रीकृष्ण पोखरेल, अनिल समर खाती रहेका छन् । भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देहीका अध्यक्ष अशेष सिलवाल लगायतको सहभागितामा संघको पाल्पा शाखा गठन गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update