Shittalpati
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी

पाल्पा, विशेषतः विद्यालयमा विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिकाइन्छ । सैद्धान्तिक ज्ञानमै  सिमित गराईने विद्यार्थीले न व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् नत संस्कार सहितको शिक्षा नै । जसका कारण पछिल्लो समय समाज न सभ्य बन्न सकेको छ नत जन्मदिने बाबुआमा नै सम्मानित । विद्यालय तहबाटै विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिन नसक्दा आफन्नै छोराछोरीहरुबाट बुवा आमा अपहेलित हुनु परेको छ । पाठ्यक्रममै संस्कारसहितको शिक्षा नहुँदा पछिल्लो पुस्ताले आफ्ना अभिभावकहरुलाई घृष्णा, अपहेलित गर्दै गएका बेला तानसेनमा रहेको सिद्धी विनायक एकेडेमी  स्कुलले भने विगत चार वर्षदेखि विद्यालयमा संस्कार सहितको शिक्षा दिर्दै आएको छ ।  

स्कुलले हरेक वर्ष अभिभावक दिवस कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिभावकप्रति सम्मान गर्ने संस्कारको विकास गर्दै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीहरुले आफ्ना आमाबुवा, हजुरबा हजुरआमाहरुलाई कसरी सम्मान, आदार गर्ने भन्ने ज्ञान सिक्दै आएका छन् । विद्यार्थीहरुले शुक्रबार अभिभावक दिवसको अवसरमा आफ्ना हजुरबा, हजुरआमालाई खादा ओढाएर सम्मान गरे । दिवस औपचारिक कार्यक्रम भए पनि अन्य कार्यक्रममा जस्तो प्रमुख अतिथिबाट जेष्ठ नागरिकलाई सम्मान गराइएन । कार्यक्रममा विद्यार्थी आफैले आ–आफ्ना अभिभावकलाई स्टेजमा बोलाएर आफै खादा ओढाईदिए । त्यतिमात्र होइन उनीहरुले आ–आफ्ना हजुरबा, आमाको योगदान, माया, ममताको चर्चा गर्दै दिर्घजीवनको कामना समेत गरे । आफ्ना नाति नातिनीहरुबाट सम्मानित  हुन पाएकोमा अभिभावकहरु समेत अत्यन्त उत्साहित बनेका थिए । अभिभावक होमबहादुर थापाले आफुहरु जस्ता कयौं जेष्ठ नागरिकहरु वृद्धआश्रममा जानु परेको अवस्थामा नाती नातिनाहरुले सम्मानसँगै माया र सद्भाव देखाएकोमा खुसी व्यक्त  गरे । अर्की अभिभावक लक्ष्मी पौड्यालले स्कुलमै बोलाएर नाती नातिनाहरुले सम्मान गर्दा खुसी लागेको बताइन् । कार्यक्रममा विद्यार्थीहरु कार्यक्रम सञ्चालनदेखि स्वागत आफै गरेका थिए । उनीहरुले कार्यक्रमको प्रमुख अतिथि समेत कुनै नेता, मन्त्री नभई आफ्नै जेष्ठ अभिभावकलाई नै गराए । प्रमुख अतिथिका रुपमा रहेका जेष्ठ नागरिक धर्मप्रसाद बस्यालले विद्यार्थीहरुले आफ्ना अभिभावकको सम्मान गरेर संस्कारसहितको शिक्षा हासिल गरेको बताए ।

विशिष्ठ अतिथि प्याव्सनका केन्द्रीय सदस्य भरत न्यौपानेले पश्चिमी संस्कृतिले पारेको प्रभावलाई सम्मान कार्यक्रमले केही हदसम्म भए पनि ओझेलमा पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हजुरबुवा, आमाहरु ज्ञानको सागर भएको भन्दै उनीहरुको ज्ञान र अनुभवलाई सिको गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । न्यौपानेले स्कुलबाटै विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिन सकियो भने अभिभावकहरु अपहेलित हुनु नपर्ने बताए ।

फरक प्रसंगमा उनले नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सरकारी सेवाबाट बञ्चित  हुन्छन् भन्ने गलत धारणा रहेको बताए । उनले निजी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुले नै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्कलर्ससिप पाउन सफल भएको भन्दै तिनै विद्यार्थीहरु अहिले अब्बल बनेको बताए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष भुवन ज्ञवालीले विगतदेखि नै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै संस्कारसहितको शिक्षा दिर्दै आएको बताए । उनले भने ‘विद्यालयतहबाटै विद्यार्थीहरुमा संस्कार सिकाउन सकियो भने भोली समाज र राष्ट्रलाई सभ्य र सु–संस्कृत बनाउन सकिन्छ भन्ने उद्देश्यले हरेक वर्ष विद्यार्थीहरुबाट अभिभावकलाई सम्मान गर्ने परिपाटी बसालिएको हो ।’ स्कुलकी प्रिन्सिपल मञ्जु ज्ञवालीले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेको र उनीहरुलाई सम्मान गर्नु सबै सन्ततीको  दायित्व रहेकाले त्यो संस्कारको विकास गर्न विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिदै आइएको बताइन् ।  कार्यक्रममा विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको सम्मानमा नाटक सहित विभिन्न प्रस्तुतीहरु देखाएका थिए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष भुवन ज्ञवालीको अध्यक्षता, विद्यार्थीहरु अस्मिता थापा, सुमिन पाण्डे, सवनम गाहाको स्वागत, विद्यार्थीहरु संयुक्त थापा र अञ्जली बुढाथोकीको सञ्चालनमा कार्यक्रम भएको थियो ।   

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update