पाल्पा, देशभर सञ्चालनको घोषणा गरिएको ‘दादुरा–रुबेला खोप अभियान’ को तयारी पाल्पामा तिव्र पारिएको छ । फागुन १३ गतेदेखि २७ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन लागिएको दादुरा–रुबेला रोग विरुद्ध खोप अभियान तिव्र पारिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सञ्चारकर्मी र सरोकारवालासँग अन्तक्र्रिया गर्दै दादुरा रुबेला खोप अभियानको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । जिल्लामा २ सय ७९ खोप केन्द्रमार्फत १७ हजार ८ सय ४५ बालबालिकालाई खोप अभियानमा लक्षित गरिएको छ । स्वास्थ्य कार्यालयले पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकाका बालबालिकाहरुलाई खोप दिनेछ । फागुन २१ गतेदेखि २७ गतेसम्म जिल्लाका अन्य ४ वटा पालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए । दोश्रो चरणमा रम्भा गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख गिरीले बताए । उनले भने ‘अभियानलाई सफल पार्नका लागि सबै स्थानीय तह मार्फत निमन्त्रणा कार्ड समेत वितरण गरेका छौं ।’ नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।
अभियानका लागि ५ सय ६० स्वयंसेवक खटिएका छन् भने २ सय ८० स्वास्थ्यकर्मी परिचालित छन् । स्वास्थ्य कार्यालयले अभियान सफल बनाउन जिल्लास्तरीय योजना तर्जुमा, स्वास्थ्यकर्मीहरूलाई तालिम, स्वयसेवकको लागि अभिमुखीकरण, पालिका, वडा खोप समन्वय समिति र सञ्चारकर्मीसँग अन्तक्र्रिया जस्ता कामलाई तिव्रता दिएको छ । गाउँ–गाउँमा खोपको महत्व बुझाउन सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग छलफल र अन्तक्र्रिया गर्दै आइएको स्वास्थ्य कार्यालयका प्रमुख गिरीले बताए । उनले भने ‘हामीले यसलाई आफ्नो भविष्यसँग जोडेर हेर्नुपर्छ, धेरै मान्छेले खोपको महत्व बुझ्दैनन्, त्यसकारण सबैलाई यसको महत्व बोध गराउँदै हामीले दादुरा रुबेला खोप अभियान सफल पार्नुपर्ने छ ।’ डा. गिरीले अभियानलाई सफल पार्न जिल्लाका पत्रकारहरुलाई समेत आग्रह गरे । उनले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सामुदायिक स्तरमा यसको प्रचारप्रसार बढीभन्दा बढी गरिदिन सुझाव दिए ।
डा. गिरीले आ–आफ्ना बालबालिकाको भविष्यप्रति जिम्मेवार अभिभावकले खोपको महत्व बुझ्न र अरूलाई समेत बुझाउन जरुरी रहेको बताए । बाल मृत्युको प्रमुख कारणमध्ये दादुरा रुबेला रहने गरेको उनले बताए । यसको संक्रमणले कुपोषण, निमोनिया, इन्सेफ्लाइटिस र बिकलांगताजस्ता असर देखा पर्ने गरेको गिरीले सुनाए । यसको संक्रमणले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति क्षीण हुने भएकाले विभिन्न खाले संक्रमण हुने गरेको डा. गिरीको भनाई छ । एउटा संक्रमित बालबालिकाको सम्पर्कमा आउने कुनै पनि बालबालिकाले यदि खोप लिएको छैन भने सर्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए । खोप लिएका बालबालिकामा भने यसको संक्रमणको सम्भावना नहुने डा. गिरीको बुझाइ छ । दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ ।
नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । दादुराविरुद्धको खोपको एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्दछ । दुई डोजले करिब १०० प्रतिशतसम्म बालबालिकाहरू पूर्णरूपमा सुरक्षित गर्न सक्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनले १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि नलगाएको बताउँछ । धेरैले ९ महिनासम्म खोप लगाएपनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको स्वास्थ्य कार्यालय प्रमुख डा. गिरीले बताए । तुलनात्मक रुपमा दादुराको दोस्रो मात्राको खोप लगाएको अवस्था नेपालको हेर्दा सन्तोषजनक मान्न नसकिने उनले बताए । पहिलो मात्राको खोप लगाउनेहरू ९५ प्रतिशतभन्दा बढी भए पनि ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् । दादुरा रोग छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने डा. गिरीको भनाई छ ।
खोपप्रतिको महत्व कम हुनु, खोप अभियान फितलो हुनु, खोपमा पहुँच नहुनु आदि कारणले बालबालिकाहरु खोपबाट बञ्चित हुन पुगेका छन् । कोभिड महामारीले पनि धेरै बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन पुगेको अनुमान गर्न सकिन्छ । सबै बालबालिका दादुराविरुद्धको पूर्ण मात्राको खोप नपाएसम्म यो निवारणमा आउन कठिन देखिन्छ । दादुरा अति संक्रामक रोग रहेको स्वास्थ्य कार्यालयका कार्यक्रम फोकल पर्सन विश्वनाथ न्यौपानेले बताए । यो रोग कुनै पनि उमेरको मानिसहरुलाई र विशेषगरी बालबालिकालाई लाग्ने गरेको उनको भनाई छ । यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने बताएको नेपालले पछि सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता गरेको थियो । तर अहिले पनि यो लक्ष्य सन् २०२६ सम्मका लागि सारिएको छ । बर्सेनि दादुरा संक्रमित बिरामी पुष्टि भइराख्नुले नेपालले दादुरा निवारणमा लिएको लक्ष्य भने भेट्नै कठिन देखिन्छ ।