Shittalpati
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साइबर ब्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीबाट पाल्पामा सरुवा भई आएका चन्दले मंगलबार जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षालाई मजबूद बनाउन प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने बताएका हुन् ।

उनले पत्रकारहरुले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिने गरी योजना बनाएर अगाडि बढ्ने धारणा व्यक्त गरे । एसपी चन्दले भने ‘हामीसँग प्रहरी जनशक्ति कम छ, तर पनि सिमित जनशक्ति परिचालन गरी जिल्लाको सुरक्षालाई थप प्रभावकारी र मजबूद बनाउने दिशामा म र मेरो टिम लाग्छ ।’ सडक दुर्घटना न्यूनिकरण चुनौतीको रुपमा रहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी एक्लैले सम्भव नहरेको भन्दै उनले नागरिकस्तरमै पुगेर उनीहरुसँग सहकार्य गर्ने पनि बताए । एसपी चन्दले कानुनको परिधी भित्र रहेर पीडित नागरिकहरुलाई न्याय दिने काममा समेत आफ्नो सक्रियता रहने बताए । उनले भने ‘अन्यायमा परेका कोही पनि नागरिकलाई काखा र पाखा नगराई न्याय दिलाउने काममा लाग्ने छु ।’ एसपी चन्द्रले वर्षौदेखि पेण्डिङ्मा रहेका फाइलहरु हेरेर काम कारवाही अगाडि बढाउने पनि बताए । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘प्रहरी र पत्रकारबीच पेशागत सम्बन्ध कायम राख्न सधै प्रतिवद्ध छु ।’ उपरीक्षक चन्दले शान्ति सुरक्षा र जनताका हरेक क्रियाकलाप आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जिल्लाका हरेक घटनाबारे जानकारी दिने कार्यलाई अझै प्रभावकारी बनाउन आफुहरु थप सक्रिय भएर लाग्ने बताएका छन् । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले मिडिया मैत्री बन्न प्रहरीलाई आग्रह गरे । उनले यस अघिका केही प्रहरी प्रमुखहरुले स्मरणयोग्य कार्य गरेर गएको भन्दै सरुवा भएर आएका नयाँ एसपी चन्दलाई पनि आफ्नो कार्यकालभरी स्मरणयोग्य र नमूना काम गर्न आग्रह गरे । उनले प्रहरीका सकरात्मक गतिविधिप्रति जिल्लाका पत्रकारहरुको साथ र सहयोग रहने पनि बताए । कार्यक्रममा पत्रकारहरुले टिपरको ओभरलोड रोक्नुपर्ने, सूचना प्रवाह प्रभावकारी बनाउनुपर्ने, ग्रामीण क्षेत्रमा चल्ने सवारीको भाडादर समायोजन गर्न पहल गर्नुपर्ने, आर्थिक अनियमिता रोक्नुपर्ने जस्ता सुझाव दिएका थिए । यस अघिका एसपी हेरम्वर शर्माको काठमाडौं सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा चन्द पाल्पा आएका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update