Shittalpati
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा

पाल्पा, तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको हो । यहाँका नेवार समुदायले हरेक वर्ष माघ शुक्ल द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।

सोही अनुसार यस वर्षको रथ निकालिएको हो । भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए । शित्तलपाटीमा रहेको भीमसेन मन्दिर विसं १८६४ मा स्थापना भएको थियो । माघ शुक्ल भीमा एकादशीको दिन तानसेनमा खासै केही गरिदैन । यस दिन राती शित्तलपाटी मन्दिर अगाडि धुनि जगाइन्छ, भजन गाइन्छ तथा उपस्थित भक्तजनहरुलाई प्रसादको रुपमा समयबजी बाड्ने प्रचलन रहेको छ । माघ शुक्ल द्वादशीको दिन भने भीमा द्वादशी भनेर शित्तलपाटीको भीमसेनको रथयात्रा निकाल्ने परम्परा रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए ।

नेवार समुदायले शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई तीनतिर खुल्ला पितलले मोडिएको छाना भएको रथमा राखि नगर परिक्रममा गराएका थिए । इतिहास बोकेको भीमसेन रथ यात्राको रौनक भने यस पटक  देखिएन । आधुनिकताका कारण यो रथ यात्रासँगै पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घट्दै गएको छ । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भए पनि यसतर्फ खासै चासो दिएको देखिदैन ।
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update