Shittalpati
त्रिविको उपकुलपतिमा केशरजंग नियुक्त 

पाल्पा, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई २०औँ उपकुलपतिका रुपमा नियुक्त गरेका हुन् ।

पाल्पामा जन्मिएका बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत हुन् ।  उनी २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update