पाल्पा, कृषि प्रधान देशका किसानहरुका समस्या सांसदहरुका लागि खासै ठूलो ‘इस्यू’ बन्दैन । वर्षौंसम्म जंगली जनावरबाट बाली जोगाउन सकसमा परेका किसान हुन वा उत्पादन भए पनि बजार नपाएर कृषि उपज खेर फाल्नु परेका किसानका समस्या किन नहुन्, यी विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ । त्यति मात्र होइन, वर्षौदेखि भुक्तानी नपाएका उखु किसानदेखि समयमै मल नपाउने किसानका समस्याले समेत संसदमा खासै प्राथमिकता पाउँदैनन् । बिहीबारको प्रतिनिधिसभाको बैंठकमा भने केही सांसदहरुले किसानका कुरा उठान गरेका छन् । उनीहरुले बहुसंख्यक कृषक र जनताको सरोकारसँग जोडिएका बाँदर नियन्त्रण, उत्पादित वस्तुको बजार लगायतका विषयमा कुरा उठाएका छन् ।
संसदमा नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले किसानले मल, बीउ र बजारका लागि सधैँ समस्या भोग्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न सरकारसँग आग्रह गरे । ‘किसान मल बीउ सिचाईं र बजार देउ भनिरहेका छन् । हामीले योजना बनाउन सकिरहेका छैनौं ।’ उनले भने, ‘किसानलाई बाँदरले दुख दिइरहेको छ । बाँदरले दुख नदिने बाली के प्रयोग गर्ने हामीसँग कुनै सोंच छैन । एकातिर किसानलाई बाँदरले दुख दिएको छ, अर्कोतिर अहिले मैले सुन्दैछु । बाँदरको बन्ध्याकरण गर्ने !’ सांसद भण्डारीले किसानको अनुदान खाने बाँदरलाई के गर्ने ? भन्दै प्रश्न समेत गरे । उनले बाँदरको बन्ध्याकरण गर्ने चर्चा चलेको भन्दै किसानको अनुदान खाने बाँदरलाई के गर्दै भन्दै व्यङ्ग्य गरेका हुन् । भण्डारीले थपे, ‘किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त ?, किसानले बजारमा लैजाने सामानलाई लैजाँदा सिमा नाकामा छाडिदिनेलाई के गर्ने त ?, किसानलाई सस्तो मूल्य दिएर चर्को मूल्यमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?, के लगाएमा फाइदा हुन्छ ? के गरेमा मुलुक बन्छ भन्ने कुरा छैन ।’ उनले नेपालमा गाँजा खेती गर्न दिनुपर्ने माग समेत गरे । ‘कानून बनाउँ, गाँजा खेती गर्न दिउँ ।’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति तथा सांसद रवि लामिछानेले देशभरका दुध किसान र मह किसान मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनने भने ‘देशभरका दुध किसान र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ, यसतर्फ सरकारको ध्यान जाओस् ।’ अहिले पीडित किसान आन्दोलनमा रहेको र त्यो आन्दोलनलाई नजरअन्दाज नगर्न उनले सरकारलाई आग्रह समेत गरे ।
सांसद लामिछानेले भने ‘किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार ढाल्न समेत पछि पर्दैनन्, होसियार रहनुहोला ।’ बेला बेलामा केही सांसदहरुले किसानका यस्तै गरी कुरा उठाए पनि सरकार भने मौन बस्ने गर्दछ । समय समयमा आउने तरकारीका समस्या, सडकमै दुध पोख्नुपर्ने किसानका समस्या र उखु किसानले नै मूल्य नपाएका समस्याको दीर्घकालीन सामाधानका लागि सरकारले अहिलेसम्म केही ठोस पहल गरेको देखिँदैन ।