Shittalpati
त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)

मलेखु (धादिङ), धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसी त्रिशूलीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो  ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रउ गौतमले “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ ।

बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update