प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको हो । यस वर्षको दिवस शुक्रबार विश्वभर ‘लैगिंक समावेशितालाई प्रेरित गरौँ’ भन्ने नाराका मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको छ । विश्वका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको हो । तर बिडम्वना, नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिंदैन । नेपालमा नारी माथि दमनमात्र होइन, हत्याहिंसा र बलात्कारका श्रृंखला चलिरहेको छ । छोरीचेली दिनानुदिन असुरक्षित बन्दै गएका छन् । ११३ वर्षदेखि चलेको नारी अधिकारको सन्दर्भ आजपर्यन्त पनि जारी नै छ । एक्काइसौं शताब्दीको संघारमा आइपुग्दा पनि महिलालाई पनि पुरूषसरह अधिकार दिइनुपर्छ भनेर आवाज उठिरहेको छ । महिला र पुरूषलाई एक सिक्काको दुई पाटा भन्ने गरिए पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन ।
संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान व्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । तर विडम्वना नै मान्नु पर्छ आजको समयसम्म पनि नेपाली महिलाहरु परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्न बाध्य छन् । महिलाका हकअधिकारलाई सफल कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो । महिला अधिकारका लागि महिलामात्रै सचेत भएर पुग्दैन, पुरूषलाई पनि सोही अनुसार सचेत बनाइनुपर्छ । राज्यसत्तामा समेत महिलाको भूमिका निकै कमजोर देखिन्छ । जतिसुकै समानताका नारा दिए पनि महिलालाई राज्यसत्तामा आउने कुरामा बाधा गर्ने पुरुष वर्ग नै हो । किनभने हाम्रो समाजको संरचना पुरुषप्रधान रहेको छ । जतिसुकै नस्वीकारे पनि मानसिकतामा पनि त्यही कुराको हावी भइरहेको छ । किनभने उहिलेदेखि दिमागमा बसेको कुसंस्कारको फोहोर हत्तपत्त सफा गर्न खोज्दा एकैचोटी जाँदैन, समय लाग्छ । तर आजको आवश्यकता समतामूलक समाजको निर्माण गर्नु हो । यसर्थ त्यसका लागि समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण गर्न जरूरी देखिन्छ ।