हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । आज उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । तत्कालीन पहिलो विश्वयुद्वबाट सिर्जित आर्थिक मन्दीका कारण अर्थव्यवस्थाले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला बजारको एकाधिकारपूर्ण र अनुचित व्यापारिक क्रियाकलापविरुद्ध राल्फनाडर फोरेन्स केली, भाइकल भेरनन्, कार्टिस अरनोल्डो, टम पिपरलगायत अधिकारकर्मीले थालेको आन्दोलनको दबाबमा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले १५ मार्च १९६२ मा प्रत्येक उपभोक्तालाई सुरक्षा, सूचना, सुनुवाइ र छनोट गर्न पाउने गरी चार अधिकारसहितको घोषणापत्र पारित गरेका थिए । त्यसैलाई विश्वको पहिलो उपभोक्ता अधिकार पत्र मानिन्छ । त्यही दिनको सम्झनामा हरेक वर्षको १५ मार्चलाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइन्छ । कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरे पनि यसको कार्यान्वयन पक्ष भने फितलो छ । त्यसैले नेपाली उपभोक्ताहरु मारमा पर्दै आएका छन् । बजार र उपभोक्ता तीनै पक्ष जिम्मेवार नहुँदा उपभोक्ता अधिकार कमजोर बनेको छ । यसका लागि सचेतना कार्यक्रम आवश्यक छ ।
हरेक वर्ष दिवसका दिन सचेतना कार्यक्रम गरे पनि त्यसले उपलब्धी हासिल गर्न सकेको छैन । उपभोक्ताको हितका लागि हरेक दिन उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्दछ । यद्यपी नेपालमा भने त्यसो हुन सकिरहेको छैन । वर्षको एक दिन औपचारिक कार्यक्रम गरेर दिवसको ‘झारा’ टार्ने काम यस वर्ष पनि यथावत् नै छ । उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौं ऐन कानुन भएपनि आम उपभोक्ताले अझै पनि महशुस गर्न पाएका छैनन् । अहिले बजारमा नेपाली उपभोक्ताहरू वस्तु र सेवा दुवै क्षेत्रमा दिन दुगुना र रात चौगुना ठगिइरहेका छन् । एउटा उपभोक्ता बजार गएर घर र्फकदा आफू सवस्र्व लुटिएको महशुस गर्दै घर फर्कनु परेको छ । भ्रामक र झुठा विज्ञापन कमजोर नियमन र कारवाहीबाट उपभोक्ताले विश्वास गर्ने ठाउँ रत्तिभर छैन । यस्तो अवस्थामा सरकारी तवरबाटै कानुन कार्यान्वयनलाई प्रभावकारी बनाई सचेतनाका कार्यक्रमहरु गर्न सकियो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।