Shittalpati
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा

पाल्पा, झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले अर्धवार्षिक समीक्षा गोष्ठी गरेको  छ । 

नेपाल नेत्र ज्योति संघ पाल्पाद्वारा सञ्चालित अस्पतालले आफ्नो र आफु मातहत सञ्चालित उपचार  केन्द्रहरुले ६ महिनामा गरेका गतिविधि, कार्य योजनाका बारेमा तानसेनमा समीक्षा गरेको हो । समीक्षा गोष्ठीमा अस्पतालका कार्यक्रम संयोजक शन्तोष दर्जी, व्यवस्थापक जीवनाथ गैरेले अस्पतालले गरेका गविधि र प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरका इञ्चार्ज  सुन्दर राना, तिनाउ आँखा उपचार केन्द्रका  रमेश साहनी र रैनादेवी छहरा उपचार केन्द्रका  मनोज शर्मा लगायतले आ–आफ्नो उपचार केन्द्रका  प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अस्पतालले अहिले पाल्पामै पहिलो पटक मोती विन्दुका विरामीहरुको अत्याधुनिक मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया सेवा सञ्चालन गरेको जनाएको छ । यसअघि आँखा अप्रेस गर्नु परेमा भैरहवा, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । पाल्पामै फेको मेसिनबाट आँखाको अप्रेस गर्न थालेपछि भने बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ ।

रामपुरमा पनि निकट भविष्यमा सर्जिकल सेन्टर  स्थापना  गरी सेवा दिने तयारी रहेको अस्पतालका कार्यक्रम संयोजक दर्जीले बताए । समीक्षा गोष्ठीमा आँखा अस्पताल र उपचार केन्द्रहरुलाई थप ब्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिइएको छ । अस्पताल सञ्चालनका लागि थुप्रै समस्याहरु भएकाले तिनलाई क्रमशः समाधान गर्दै जानुपर्ने आवश्यकता रहेको अस्पतालका डाक्टर  सुचन कुमार पुनले बताए । उनले गुल्मी अर्घाखाँचीका  उपचार  केन्द्रमा समेत  शल्यक्रिया  सेवा दिनु पर्ने  भएकाले थप डाक्टरको आवश्यक रहेको उल्लेख गरे । कालीगण्डकी आँखा उपचार केन्द्रका सभापति  भिम विश्व भट्टराईले रामपुर  अस्पताल  सञ्चालनमा विविध  समस्या रहेकाले समाधानका लागि अस्पताल ब्यवस्थापन समितिको ध्यानाकर्षण गराए । कार्यक्रममा अस्पतालका कार्यवाहक सभापति भिमसेन कार्कीले छलफलमा उठेका कुराहरुको जवाफ  दिदै  सिमित श्रोत साधनबाट सञ्चालित अस्पतालमा  दुई जना डाक्टरको दरबन्दी  भए पनि एक जना मात्र  भएकाले  समस्या  रहेको स्वीकार गरे । उनले डाक्टर अभावका कारण अस्पतालाई सेवा प्रवाहमा केही चुनौति रहेको बताए । कार्कीले भने ‘हामीसँग एक जना मात्र डाक्टर छन् उनबाटै पाल्पा, गुल्मी र अर्घाखाँचीसम्म हेर्नुपर्ने हुन्छ ।’ पहाडी जिल्लामा डाक्टर आउन नै नमान्ने गरेका कारण डाक्टरको अभाव रहेको उनको भनाई । उनले भने,‘डाक्टर आए पनि केही समय बस्ने र ठूला ठूला अस्पतालमा जान खोज्ने गर्दा आँखा अस्पतालहरुलाई समस्या भएको छ ।’ आगामी दिनमा कर्मचारीको व्यवस्थापन गरी सेवा प्रवाहलाई चुस्त बनाईने कार्कीले बताए । कार्यवाहक  सभापति कार्कीको अध्यक्षता, सचिव  राजेन्द्र लिगलको सञ्चालनमा समीक्षा गोष्ठी भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update