पाल्पा, झण्डै एक दशक अघिसम्म होली संस्कृतिलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्थ्यो । जसले समाजका हरेक पक्षका बारेमा बोल्दथ्यो । समाजको एक अभिन्न अंग थियो होली संस्कृति । जुनसुकै संस्कृति पनि इतिहाससँग जोडिएको हुन्थ्यो । पूर्खाहरुको पौरख, रितिरिवाज र चालचलनको प्रर्याय ठानिन्थ्यो । होली संकृति पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएता पनि अहिले भने विस्तारै हराउँदै गएको छ ।
रंगहरुको पर्व फागुपूर्णिमा (होली) सुरु भएको संकेत दिन चिर ठड्याउने गरिन्छ । पाल्पाको तानसेनस्थित टक्सारटोलमा २०७१ सम्म निरन्तर चिर ठड्याउँदै आए पनि अहिले त्यसले निरन्तरता पाउन सकेको छैन् । यहाँ परापूर्वकालदेखि नेवार समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुवात गर्ने परम्परा रहिआएको थियो । गणेश मन्दिरको मूलद्वार अगाडि रंगीचंगी धजाले सिंगारिएको चिर ठडाएपछि होली पर्व सुरु भएको मान्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा भने आर्थिक अभाव र नयाँ पुस्ताले चासो नदिदा यो परम्परा विस्तारै हराउँदै गएको छ । गत वर्ष ८ वर्षपछि टक्सारटोलमा तानसेन भजन संरक्षण समिति र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सक्रियतामा जसो तसो चिर ठड्याइएको थियो । तर यस वर्ष भने त्यसले निरन्तरता पाउन सकेनन् । यहाँ २०७१ सालमा अन्तिम पटक चिर गाडिएको थियो । त्यसयता आर्थिक अभाव र पुराना पुस्ताहरु अशसक्त हुँदै गएपछि युवाहरुले चासो नदिँदा चीर गाड्न छोडिएको हो । परम्परागत संस्कृति हराउँदै जान थालेकोमा निकै चिन्ता थपेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली बताउँछन् । उनले भने, ‘पुरानो पुस्ता सकिदै जानु र नयाँ पुस्ताले परम्परागत संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित छौँ ।’ तानसेनमा नेवारहरुको बस्ती बसेदेखि नै होलीको अवसरमा चिर गाड्ने परम्परा रही आएको हो । पहिले–पहिले तानसेनको शित्तलपाटी, भिमसेनटोल, बसन्तपुर, टक्सारटोल लगायतका स्थानहरुमा चीर ठड्याइने गरे पनि आर्थिक अभाव र पुराना पुस्ताहरुको मृत्यु पछि विस्तारै हराउँदै गएको देउरालीले बताए । उनका अनुसार चिर गाड्ने काम पहिला अन्य टोलहरुमा भएता पनि पछि यो केवल टक्सारटोलमा मात्र सिमित भएको हो । ‘चिर ठडाउन, भजन गाउँन र होली खेल्नका लागि आर्थिक स्रोत चाहिन्छ, त्यो स्रोत कहि कतैबाट आउँदैन, व्यक्ति आफैले खर्च गरेर कति दिन गर्ने ? पुराना पुस्ता शारिरीक रुपले अशक्त हुँदै गए, नयाँ पुस्तामा कुनै चासो छैन्, कसरी संरक्षण गर्ने ?’ अध्यक्ष देउरालीले भने । गत वर्ष भजन संरक्षण समितिले चासो देखाएपछि प्रतिष्ठानले केही सहयोग गरेर चिर ठडाएको उनले बताए । देउरालीले भने ‘यस वर्ष भने चिर ठडाउने मुख्य व्यक्ति मंगल दाई अस्वस्थ हुनुहुन्छ, अरुले खासै चासो देखाएन, हामीले पनि उहाँहरुले चासो नदेखाएपछि खासै चासो दिएनौं ।’ आफु शारिरीक रुपमा अस्वस्थ भएका कारण यस वर्ष चिर ठडाउन नसकेको डाफा भजन संरक्षण समितिका अध्यक्ष तथा चिर ठडाउने मुख्य व्यक्ति मंगलप्रसाद बज्राचार्यले बताए । उनले भने ‘अब म उमेरले पनि बूढो भइसके, नयाँ पुस्ताले चासो देखाउँदैन के गर्नु ?’ जनतन अहिलेसम्म परम्परा धान्दै आएका थियौं, अब भने हराउँदै जाने हो कि भन्ने चिन्ता लागेको बज्रचार्यले बताए । उनले आर्थिक अभावका कारण पनि चिर ठड्याउने संस्कृतिले निरन्तरता पाउन नसकेको गुनासो गरे । चिर ठड्याइदा भजन समेत गाउने गरिन्छ । उता काठमाडौंको बसन्तपुरमा पनि तीनतले चीर ठड्याउने गरिन्छ । त्यहाँ यस वर्ष पनि चिर ठड्याइएको छ । चिर ठडाएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । चिर गाडेपछि बसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अविर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ ।
होलीकै भोलिपल्टबाट ऋतुहरुका राजा बसन्त ऋतुको आगमन हुने विश्वास छ । हरेक वर्षको फागुन शुक्ल अष्टमीका दिन लिंगो ठड्याउने चलन छ । असत्यमाथी सत्यको विजयको प्रतिकका रुपमा चिरलाई लिने गरिन्छ । उक्त चिरलाई फागुपूर्णिमाका दिन ढाली खोलामा लगेर दहन गरेपछि यो वर्षको होली सकिनेछ । चिर दहन भएपछि असत्यमाथि सत्यको जित भएको मानिन्छ । यो वर्ष पहाडी जिल्लामा चैत ११ र तराईमा चैत १२ मा होली मनाइँदैछ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भस्म गरी सत्यवादी भक्तप्रल्हादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपीनीहरुले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथा लगायतका प्रसंगहरु होलीसँग जोडीएको धार्मिक ग्रन्थमा उल्लेख छन् । होलीमा रंगहरु र अविर एक आपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।