खुसी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो स्वास्थ्यका लागि अचुक औषधि समेत हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ । तनावको उचित व्यवस्थापन गर्न नसक्दा व्यक्तिहरू मानसिक रोग (डिप्रेसन) को सिकार बनी आफ्नो उत्पादनशील समय पीडा र छट्पटीमा बिताउन विवश छन् । चिन्ता गर्दा–गर्दा चिन्ताले नै चिताको बाटोमा लैजान्छ । तसर्थ चिन्ताको भुमरीबाट मुक्ति पाई खुसी, उमङ्ग र उल्लासमय जीवन जिउन जरुरी छ । खुसीका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनका लागि हरेक वर्ष विश्व खुसी दिवस मनाइने गरिन्छ । बुधबार पनि विश्वभर अन्तर्राष्ट्रिय खुसी दिवस मनाइएको छ । सयुक्त राष्ट्रसंघले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुसी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो । जीवनको आनन्द नै खुसीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ ।
खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन् । कोही शान्त वातावरणमा रमाउँदा खुसी हुन्छन् त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी हुन्छन् । कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्छन् । जे जस्तो भएपनि खुसी रहनु ठूलो कुरा हो । खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । खासमा खुसी भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपी त्यो खुसीको माध्यम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोंच, धारणाको विकास हुन्छ, खुसी आफै प्राप्त हुन्छ । अतः सुखी जीवनको लागि आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । स्वस्थ्य र सन्तुलित जीवनशैलीले हामीलाई दुखी हुने अवस्थामा पुर्याउँदैन । स्वस्थ्य जीवन र स्वस्थ्य मन नै खुसीको आधार हो । योग, व्यायाम, प्राणायम जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ । जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जीउन सकिन्छ । यसर्थ स्वस्थ रहन सधैँ खुसी हौं ।