हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको छ । तर उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नहुँदा गुणस्तरहिन खाद्यवस्तु उपभोग गर्नु परेको छ । उपभोक्तालाई आफ्नो स्वविवेक प्रयोग गरी वस्तु तथा सेवाको छनोट गर्ने र खरिद गर्ने अधिकार हुन्छ । उपभोक्ताको अधिकार उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो । वस्तु तथा सेवाको गुणस्तर र त्यसबाट सेवाग्राहीले पाउनुपर्ने सन्तुष्टि उपभोक्ताको अधिकारभित्रका विषय हुन् । तर अधिकांस उपभोक्ता यी विषयमा जानकार नै छैनन् । जसका कारण उनीहरु दिनहुँ ठगिएका मात्र छैनन्, अस्वस्थकर वस्तुहरु उपभोग गरिरहेका छन् । कुनै पनि उपभोक्तालाई जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्याउने उपभोग्य वस्तु तथा सेवाको विक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार छ ।
त्यस्तै अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनका लागि उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार रहेको छ । तर, यी अधिकारप्राप्तिका लागि सर्वसाधारणले न कानुनी लडाइँ लड्न सक्छन् न उनीहरूलाई यसबारे जानकारी नै छ । उनीहरुलाई अधिकारबारे थाहा नहुँदा मिति नाघेका र विषादी हालिएका उपभोग्य वस्तु बजारमा खुलेआम विक्री भइरहेका छन् । यस्तो अवस्थामा सरकार जिम्मेवार बन्नुपर्छ । यसका लागि विभिन्न अनुगमनकारी र नियामक निकायहरूको व्यवस्था गरिए पनि तिनले समेत प्रभावकारी ढंगले काम गर्न सकेका छैनन् । यो अत्यन्त दुःखको कुरा हो । उपभोक्ता आफै पनि सचेत हुनुपर्छ । उपभोक्ता आफूले प्रयोग गर्ने वस्तु व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित हुन्छ । त्यसैले उपभोक्ताले कुनै वस्तु वा सेवा उपभोग गर्नु पूर्व त्यसको गुणस्तर, प्रभाव वा असरका बारेमा सजगता अपनाउनुपर्छ । त्यस्ता वस्तु उपभोग गर्न योग्य छन्/छैनन्, उत्पादन र उपभोगको सीमा निर्धारित छ/छैन भन्नेमा उपभोक्ता सचेत हुनैपर्छ । सँगसँगै वस्तु उत्पादक, आयात–निर्यातकर्ता, सञ्चयकर्ता, बिक्रेता र सेवा प्रदायक संस्था पनि जिम्मेवार हुनुपर्छ ।