Shittalpati
डढेलोको जोखिम कम गर्नेतर्फ ध्यान देऊ

चैत लागेसँगै देशभरका अधिकांश वन जंगलमा डढेलोका घटानाहरु बढेका छन् । प्रत्येक वर्ष नेपालका वन जंगलबाट बस्तीमा आगलागी भएकै हुन्छ । प्राकृतिक वा मानवीय कमजोरीले निम्त्याउने डढेलोले प्रत्येक वर्ष दुःख दिएकै छ । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरी लगायत कारणले दिनहुँ सयौंको संख्यामा डढेलो लाग्नु निश्चय नै चुनौतीको विषय हो । सामान्यतया नेपालमा फागुनदेखि जेठसम्म डढेलो बढी लाग्ने गर्छ । त्यसमा पनि विगत वर्षहरूको तुलनामा यो चैतमा डढेलोका घटनामा अत्यधिक वृद्धि हुने गर्दछन् । तर, राज्यसँग डढेलो नियन्त्रणको तयारी भने कहिल्यै हुँदैन । डढेलो नियन्त्रणका लागि राज्यसँग सोच नै छैन, संयन्त्र छैन र स्रोत साधन छैन् । सहर बजारमै भीषण आगलागी हुँदा वा डढेलो फैलदा निभाउने पर्याप्त वारुण यन्त्र छैनन् । नाम मात्रका छन् । वनजंगल त बर्सेनि हजारौं हेक्टरमा डढेलो लागेर क्षति हुँदै आएको छ । 

वनपाखामा आगो लाग्न नदिने उपाय उपभोक्ता र स्थानीयले पनि अपनाउनु पर्छ । डढेलोका हकमा हुँदै आएको हेलचेक्र्याइँ भविष्यमा दोहोरिनु हुँदैन । जगजाहेर छ कि विश्व तापमान वृद्धिले संसारभर नै डढेलोको प्रकोप निम्त्याएको छ । जसबाट नेपाल अछुतो छैन । जसै डढेलो लाग्छ वा आगलागीका घटना हुन्छन्, धनजनको क्षति हुन्छ । वन्यजन्तुको ज्यान जान्छ । वायु प्रदूषण हुन्छ । डढेलोकै कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । डढेलोबाट जोगिने हो भने त्यो जोखिमको पूर्वतयारी छिटै गर्नुपर्छ । डढेलोबाट बच्ने र बचाउने उपायको खोजी वा पूर्वतयारी गर्न ढिलाई गर्नु हुँदैन । एक त डढेलो लाग्नै नदिने उपाय गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो । मानिसहरुको लापरवाही वा जानाजान डढेलो लाग्छ भन्ने अध्ययनहरूले देखाएका छन् । त्यसका लागि जनचेतना जगाउन आवश्यक छ । नियतबस र हेलचक्र्याई गरी वनमा आगो झोस्नेहरूलाई कारवाही हुँदैन । यसले गर्दा पनि डढेलोका घटनाहरु बढ्ने गर्दछन् । त्यसका कारण आगो लगाउने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनै पर्छ । यसो गर्न सकियो भने पनि केही हदसम्म डढेलोको जोखिम कम गर्न सकिन्छ । यसर्थ यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update