पिताजीको स्मृतिमा समर्पित ‘बुद्धि खण्डकाव्य’ का रचयिता नारायणी शर्मा माता ढालकुमारी आचार्य र पिता स्व बुद्धिनाथ आचार्यकी माहिली सुपुत्री हुनुहुन्छ । सौभाग्य माध्यमिक विद्यालय चिदीपानी, पाल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण भई त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट नेपाली साहित्यमा एम.ए. उत्तीर्ण गरी तानसेन बहुमुखी क्याम्पस र मिलेनियम सेकेण्डरी स्कुल तानसेन, पाल्पामा नेपाली विषय प्राध्यापन गर्दै आउनुभएकी नारायणी शर्माज्यूले रोजगारीको सिलसिलामा दुई दशकअघि दैनिक जनसंघर्ष पत्रिकामा कार्यरत रहँदा देखिनै कविता र लेखहरु प्रकाशित गर्नु भएको थियो । पाल्पा तानसेनमा आयोजना हुने साहित्यिक कार्यक्रमहरुमा समेत शर्माजी उपस्थित भई कविता वाचन गर्दै आउनुभएको छ ।
गतवर्ष २०७९ पौष २० गते ८१ वर्षको उमेरमा बाबाको परलोक गमन भएपछि पर्न गएको बज्रपातले म किंकर्तव्ययीमूढको स्थितिमा रहें । यद्यपि आफ्नो दिनचर्या चल्दै गयो । वर्ष दिन बित्न लागेको पत्तै भएन । म झल्याँस्स भएँ । मात्र एक महिना बाँकी छ । बाबाको स्मृतिमा शोककाव्य प्रकाशित गर्ने धोको भयो र खण्डकाव्य तयार पारे । समय छोटो छ । पहिल्यै साँच आएन । पछि मात्र आयो र यति लेखें । प्रकाशन योग्य छ या छैन ? छाप्न हुन्छ या हुँदैन ? हेरेर भनिदिनुस् न सर ।’ भन्दै मलाई शर्माजीले पाण्डुलिपि देखाउनु भएको केही दिनमै पाण्डुलिपि पुस्तककार रूपमा सार्वजनिक भएको थियो । जुन काव्यले नारायणीजीलाई कवयत्रीको रूपमा प्रतिष्ठापित गरेको छ । बाबा बुद्धिनाथ आचार्यको स्मृतिमा तयार पारिएको बुद्धि शोककाव्य भित्र तेह्रओटा परिच्छेद र १४२ ओटा श्लोकहरु रहेका छन् । शिखरिणी, मन्दाकान्ता र शार्दूलविकिडित छन्दमा लेखिएका भजब श्लोकहरु करुण र शान्त रसमय रहेका छन् । शुरुदेखि अन्त्यसम्म आख्यानात्मक कलाको सुन्दर काव्यिक संयोजन रहेको छ । ‘तीव्रतम् दुःखको कथानै सबभन्दा मिठो गीत वा कविता हो । ‘शेलीले भनेको यो उद्गार प्रस्त्तत खण्ड काव्यसँग मेल खान्छ । मृत्यु कसैका लागि पनि रुचिकर छैन । मृत्यु अशुभ र नीच भएकोले मृत्युसँग सबै डराउँछन् र अहिलेसम्म कसैले पनि मृत्युलाई जित्न सकेको छैन । मृत्युलाई पापी र घृणाको पात्र मान्दै कवि शिरोमणि लेखनाथ पौड्यालले ‘काल महिमा’ काव्य मार्फत कठोर शब्दप्रहार गरे तापनि उदियमान् स्रष्टा शर्माजीले भने बाबाको मृत्युलाई सहज, सरल र सम्मानजनक रुपमा काव्यिक संरचनामा संयोजन गर्नु भएको छ । जीवनको एकदेशीय यथार्थ अभिव्यञ्जित भएका कथावस्तु वा कथानक, मानवीय पात्रको रुपमा बाबा र परिवारजनका साथै मानवेत्तर पात्रको रुपमा प्रकृक्तिजन्य विषयवस्तु पात्र वा चरित्रका रुपमा उपस्थित भएका छन् ।
सरल, सहज, छन्दोबद्ध भाषाशैली, सन्दर्भयुक्त वातावरण वा परिवेशसहित समर्पण, स्मरण र प्राप्तिसहितको जीवनदृष्टि वा उद्देश्य लगायतका आधारभूत तत्वहरु बुद्धि शोककाव्यभित्र रहेका छन् । उदयानन्द अज्र्यालद्वारा लिखित ‘बेतालपच्चीसी’ नेपाली साहित्यको प्राथमिक कालिन पहिलो खण्डकाव्य हो भने युवा कवि मोतिराम भट्टद्वारा लिखित ‘पिकदूत’ ‘१९४३’, र ‘उषाचरित्र’ ‘१९४३’ माध्यमिक काल भित्र ल्याउने पहिलो खण्डकाव्यहरु हुन् । भाषिक एवं शैलीगत परिस्कारका साथ लेखनाथ पौड्यालद्वारा लिखित ‘ऋतुविचार’ ‘१९७३’ आधुनिककालिन पहिलो खण्डकाव्य हो । शास्त्र कवि पं. माधवप्रसाद देवकोटाद्वारा लिखित ‘हुस्सु पथिक’ ‘२०१०’ प्रकाशन भएसँगै पाल्पामा आधुनिक खण्डकाव्य लेखनको शुभारम्भ भएको हो । हालसम्म पाल्पामा दर्जनौँ कवि कवयित्रीहरुले खण्डकाव्य लेखी प्रकाशित गरिसकेको अवस्थामा स्रष्टा नारायणी शर्माले पनि खण्डकाव्यकारको रुपमा पाल्पाको साहित्यिक इतिहासमा पदार्पण गर्नुभएको छ । प्रस्तुत कृति पितृ वियोगको गहिरो पीडाले रन्थनिएको छन्दोवद्ध काव्य कृति हो । कृति महनीय पठनीय र संग्रहणीय रहेको छ । लेखकीय सफलताका लागि शुभकामना । बाबाको वैकुण्ठ वासको प्रार्थना ¤ बाबाको आशिर्वाद सदैव सबैलाई मिलिरहोस् । ॐपितृदेवाय नमो नम :