Shittalpati
आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा

पाल्पा, इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरी आज ‘इदउत्रफित्र’ मनाउँदै छन । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउने गर्दछन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर र मिष्ठान्न परिकार खाने चलन छ । ‘इदउत्रफित्र’ को अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । बुधबार गृहमन्त्रालयले जारी गरेको सूचनामा इदउलफित्र’को उपलक्ष्यमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update