पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–३ काउँलेडाँडा अम्रिसोले हरियाली भएको छ । १४ बर्ष अघि वनमारा झारले कुरुप बनेको डाँडा अहिले अम्रिसोले हराभरा मात्र भएको छैन् गाउँलेको राम्रो आम्दानीको स्रोत समेत बनेको छ । बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको यहाँको डाँडा अम्रिसोले सुन्दर बनेसँगै पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । सरकारले विपन्न समुदायको आम्दानीका लागि नांगोमा परिणत हुँदै गएका डाँडा र खाली जग्गा कबुलियती वनका रूपमा समुदायलाई १५ वर्षअघि हस्तान्तरण गरेको थियो । सोही बनलाई समुदायले अहिले आम्दानीको रुपमा उपयोग गरेका छन् । उनीहरुले डाँडैभरी अम्रिसो लगाएका छन् ।
एक दशक अघिसम्म निस्दी झिरुवासका जनताहरुलाई खेतबारीमा उब्जनी भएको अन्नले ३ महिना पनि खान पुग्दैनथ्यो । पैसाको अभावमा बालबालिकाहरुले कापी कलम किन्न समेत सक्दैनथे । कापी कलम नहुँदा बालबच्चा विद्यालय जान जागर गर्दैनथे । घरमा दुई÷चार पैसा देख्न पनि मुस्किल थियो । यहाँका नागरिकहरुका यी दुःखदायी क्षणहरु आज अम्रिसोका कारण इतिहास बनेका छन् । २०६६ सालदेखि जिल्ला वन कार्यालय पाल्पाले शुरु गरेको कवुलियती वन तथा पशु विकास कार्यक्रम अभियानले सिङ्ग गाउँको कायापलट भएको छ । डाँडैभरी अम्रिसो लगाईएको छ । डिभिजन वन कार्यालयले शुरु गरेको कवुलियती वन कार्यक्रमले निस्दीका जनतालाई आर्थिक, सामाजिक, मानसिक रुपमा परिवर्तन गराएको स्थानीयवासी दमन पाटा मगरले बताए । दश÷बाह्र बर्ष अगााडि गाउँमा निकै दुःख थियो, जनताले दुई÷चार पैसा पनि देख्न पाईदैनथ्ये । गाउँ वरीपरी भएको जंगल वनमाराले भरिएको थियो । कवुलियती वन कार्यक्रममार्फत जनताको जीवनस्तर सुधार गर्ने, दैनिक आयआर्जन बढाउने, वन वातावरण जोगाउने अभियानका साथ शुरु भएको झिरुवास काउलेडाँडा अम्रिसो रोपण कार्यक्रम निकै प्रभावकारी बनेको छ । स्थानीयवासीले वनमा लगाएको अम्रिसोको कुँचो बेचेर प्रत्येक घरपरिवारमा पचाँस हजारदेखि एक लाखसम्म आम्दानी गर्दै आएका छन् । गाउँमै अम्रिसोको फूल प्रति केजी ७० देखि एक सयसम्ममा विक्रि गर्दै आएको स्थानीय भूमिसरा बयम्वुले बताइन् । काउलेडाँडा कवुलियती वनको अम्रिसो खेतीले स्थानीयवासीलाई प्रत्यक्ष रुपमा आयआर्जनमा जोडेको छ भने वातावरण संरक्षण भएको छ । काउलेडाँडा सहित निस्दी गाउँपालिकामा ९ सय घरपरिवार कवुलियती वन कार्यक्रममार्फत आयआर्जनमा जोडिएका छन् । काउलेडाँडाको अम्रिसो बगान हेर्न मात्र हजारौ पर्यटकहरु पुग्ने गरेका छन् । निस्दी गाउँपालिकाबाट मात्र बार्षिक ४ करोडसम्मको अम्रिसोको कँुचो विक्रि हुँदै आएको डिभिजन वन कार्यालय पाल्पाका अधिकृत रामचन्द्र लामाले बताए । हैसियत बिग्रिएको डाँडैडाँडामा बनमाराले ढाकेको थियो । गाउँका सबै मानिस मिलेर बनमारा फाडियो, आगो लगाईयो, ३ बर्षसम्म लगातार अम्रिसोको गाँज लगाइयो । गाउँभरीका परिवारहरुको समूह–समूह बनाएर खेती पाती गर्ने, सामुहिक काम गर्ने, भएको आम्दानी, घाँस दाउरा पनि सामुहिक रुपमा बाडफाँड गर्दै आएको स्थानीय देवीसरा वयम्वुले बताइन् । अहिले सबैको घर–घरमा समेत अम्रिसो खेती बढाएकाले बनको र घरको अम्रिसो एकैचोटी विक्री गर्दै आएको बयम्वुले बताइन् ।
जिल्ला वन कार्यालयले २०६६ सालमा स्थानीयलाई आय आर्जनमा जोड्दै वातावरण संरक्षण गर्ने मुख्य अभियानका साथ काउलेडाँडा कबुलियत वन कार्यक्रम लागु गरेको थियो । वन कार्यालयले काउलेडाँडालाई ४० बर्षसम्म प्रयोग गर्ने गरी स्थानीयवासीले कवुलियत गरिदिएको छ । जिल्ला वन कार्यालयका तत्कालीन वन अधिकृत नारायणदेव भट्टराई सहितको समूह ३ बर्ष सम्म अम्रिसो रोपण, गोडमेल हेरचाहमा खटिएकै कारण नेपालकै नमुना अम्रिसो बगानको रुपमा परिणत भएको हो । अहिले अम्रिसो खेती झिरुवासवासीको लागि प्रमुख नगदे वालीको रुपमा रहेको छ । गरिवीको रेखामुनी रहेका सबै झिरुवासवासीहरुको जीवनस्तर अहिले गरिवीको रेखामाथी उठेको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए । ३ महिनासम्म खान नपुग्ने, गरिबीको रेखामुनी रहेका झिरुवासका बस्तीहरुलाई समेटेर लागु गरिएको कार्यक्रम नेपालमै नमुना भएको छ । २०६७ सालमा २ सय २७ घर परिवारलाई १९ वटा समुहमा विभाजन गरेर २ सय ४५ हेक्टर जमिनमा ११ लाख ४५ हजार अम्रिसोको गाँज रोपण गरिएको थियो । २०७२ देखि वार्षिक रुपमा काउलेडाँडा कवुलियती वनबाट मात्र स्थानीयवासीले ३ देखि ४ करोडको अम्रिसोको फूल विक्री गर्दै आएका छन् । अहिले झिरुवासवासीको प्रमुख आयश्रोत नै अम्रिसो खेती भएको छ । अम्रिसोको फूलको कुचो, पातको घाँस, जराको औषधी तथा अन्य विरुवाको रुपमा विक्री हुने भएकाले यसको खेतीमा स्थानीयहरु समेत उत्साहित भएका छन् । समुदायले संरक्षण गर्न थालेपछि यस्ता कबुलियती वनमा चरिचरन बन्द गरिएको छ ।