जगन्नाथ पन्त
चैत्र शुक्लपक्षको चैत्राष्टमीलाई हामी चैते दशैं र भोलिपल्टलाई रामनवमी अर्थात् रामजयन्ती भनेर मानिआएका छौं । कहिले काँही तिथी घटबढ हुन जाँदा एकै दिन चैते दशैं र रामनवमी पनि पर्ने गरेको हुन्छ । २०८० सालमा राम नवमी नै परेन । २०८१ सालमा दुईवटा रामनवमी परेका छन् । कृष्णाष्टमी, शिवरात्री, रामनवमी सनातन वैदिक धर्मका विषेश दिन हुन् । हरे राम हरे राम, राम राम हरे हरे । हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । यो संकृतन मन्त्र कलिसन्तरणोपनिषद् को मन्त्र हो । यो शक्तिशाली मन्त्र हो । ‘रा’को अर्थ विश्व, संसार हो भने ‘म’ को अर्थ ईश्वर अर्थात् संसार बनाउने, संसार चलाउने, संसारलाई शासन गर्ने भन्ने हो । वेदमा भनिएको छ कि एक भगवान छ जसले संसार सृष्टि गर्छ, रक्षा गर्छ र सृष्टिको संहार गर्छ । यतो वा इमानी भूतानी जायन्ते येन जातानि जीवन्ति । यत्प्रयन्त्यभिसंविशन्ति । तद्विजिज्ञासस्व । तद् ब्रह्म । श्रीमद् भागवतको पहिलो श्वलोकले पनि यही भनेको छ । जन्माद्यस्य यतोsन्वयादितरत श्र्चार्थेष्वभिज्ञः स्वराट् । हामी हिन्दूहरु रामलाई बिष्णुको सातौ अवतार र कृष्णलाई आठौ अवतार भन्ने गरेका छौं ।
जुनसुकै अवतारका बीच कुनै भेद गर्नु अज्ञानता हो । तर राम र कृष्ण स्वयं सर्वेश्वर ब्रह्म अवतार हुन भन्ने मान्यता रहेको छ । उनै राम हुन, उनै कृष्ण हुन । त्रेता र द्वापर अनि मनुष्य रुप धारण गर्नुको कारणको भूमिका मात्र फरक हो । सजिलोका लागि संसारिक जीवनका उदाहरणबाट बुझौं । जस्तो कि निजामति सेवाको प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणिको कुनै अफिसर जिल्लामा खटियो भने सिडिओ, महानगरपालिकामा खटियो भने प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकार अन्तरगत भए सचिव, विभागमा भए महानिर्देशक र संघको मन्त्रालयमा भए महाशाखा प्रमुख भन्छौ । जबकि उसको पद सहसचिव नै हो । मान्छे उही भूमिका कति फरक । दुईटा मानिस त होइन नि । राम र कृष्णमा भेद गर्नु अज्ञानता हो । बिष्णु, शंकर, ब्रह्माले शक्ति पाउने भनेको ब्रह्मबाट हो । ब्र्रह्म स्वयं सृष्टिस्थती, संहार गर्दैनन् । उनको इशारामा ब्र्रह्मा, बिष्णु र शंकरले काम फत्ते गर्दछन । ब्र्रह्माण्ड अर्थात् भगवानका लोक अनन्त छन् । हरेक ब्रह्माण्डमा एक ब्रह्मा, एक क्षीरोदशायी महाबिष्णु तथा एक शंकर नायकका रुपमा हुन्छन् जो भगवानका स्व अंश हुन । मनुष्य र चराचर जीव भगवानका विभिन्न अंश हुन् । भगवानले एक दृष्टिबाटै आफ्नो एक कलाले ‘कारणार्णवशायी महाविष्णु प्रकट गर्दछन् । कारणार्णवशायी महाविष्णुले असंख्य तथा प्रत्येक ब्राह्मण्डमा एक गर्भोदशायी महाविष्णुलाई प्रकट गर्दछन् । प्रत्येक गर्भोदशायी महाविष्णुबाट एउटा दिव्य कमल उत्पन्न भई त्यस कमलमा ब्रह्मा उत्पन्न र साथ साथै क्षीरोदशायी महाविष्णु तथा भगवान शंकर पनि उत्पन्न हुन्न्छन् । त्रिदेवले हरेक ब्रह्माणमा सृष्टि, पालन तथा संहार गर्दछन् । क्षीरोदशायी महाविष्णुले अनन्तकोटि ब्रह्माण्का अनन्त जीवका प्रत्येक समयका संकल्प (कर्म) को टिपोट गर्दछन् र त्यसको आधारमा फल दिन्छन् । अर्थात् जीवनमा धन, पद,प्रतिष्ठा, आयु, सफलता, असफलता, सुख, दुखको मात्रा र अवधि दिन्छन् । पुनर्जन्ममा कुन जुनी पाउने भन्ने उनैले निर्धारण गर्छन् । कुनै पनि जीवले क्षीरोदशायीबाट कुनै कर्म गोप्य गर्न सक्दैन । किनकि उनैले जीवमा प्राण, बुद्धिमा ज्ञान, मनमा चिन्तन शक्ति, ईन्द्रियहरुमा कर्म गर्ने शक्ति प्रदान गर्दछन् ।
संसारमा कुनै पनि त्यस्तो प्राणी छैन जो रामको भक्त नहोस् । लोके नहिः विद्येत यो न राम मनुव्रतः। (वाल्मीकि रामायण अयोध्याकाण्ड) वाल्मीकी रामायण भगवानले राम स्वरुप धारण गरेर पृथ्वीमा आउनु पहिल्यै लेखिएको हो । उनले के गरेका थिए भन्ने कथा होइन कि के गर्न आउदै छन् भन्ने सन्देश हो । यस्ता सर्बशक्तिमानले सुनको मृगका पछि किन लागे, वनबास किन भयो यो सबै लिला मनुष्यलाई ज्ञान दिनका लागि हो । मनुष्य भए पछि के के आइपर्छ, गर्नु पर्ने कर्तव्य के हो बुझुन र भगवत मिलन गर्न सकुन भनेर हो । वाल्मीकि रामायणको युद्वकाण्डमा रामले सुग्रिवलाई भनेको एक प्रसंग छ । हतियार विना नै मेरो एक इच्छाले अनन्तकोटि ब्राह्मण्डका राक्षस मर्दछन् । म त के लक्ष्मणले नै एक सेकेण्डमा सबैलाई मार्न सक्छन् । जग महुं शखा निशाचर जेते । लक्षिमन हनइ निमिष महं तेते । मनुष्यले समाज, मातृभूमि, माता, पिता, भाईवन्धु, पति, पत्नी प्रति गर्नु पर्ने कर्तव्य सिकुन् भनेर अवतार लिएको हु, सामान्य मान्छेले जस्तै व्यवहार गरेको छु, भगवानको स्वरुप प्रकट गरेको छैन । मनुष्य मात्र होइन कि पशुपंक्षी, किटपतंङ, सारा चराचर जीव आनन्द चाहान्छन् । आनन्द भनेको भगवान हो । जुन एक पटक मिले पछि सदा बढि रहन्छ, ह्रास हुँदैन । जबकि संसारिक पदार्थ, वस्तु वा सम्बन्ध स्वार्थपूर्ण हुन्छ । उपयोग गर्ना साथ घट्दै जान्छ । तिर्खाएकोले अलिकति पानी पिएपछि पिइरहँदैन, भोकाएकाले खाना खाएर अघाए पछि लगातार खाइरहन सक्दैन, आनन्द हुन्छ भनेर मादक पदार्थ आदि सेवन गर्नेलाई पछि प्रतिकूल असर गर्छ । तर भगवान एक पटक मिल्यो भने जीवन सार्थक बन्छ, त्यो आनन्द थपिदै रहन्छ । हरेक जीव ईश्वरको विभिन्न अंश हो । पूर्ण अंशसंग मिलनको लागि छट्पटिइ रहन्छ । तर भ्रममा परेर धन दलौत, पदको प्रतिष्ठा, पदार्थको रस्वादन, ईन्द्रिय र कर्मेन्द्रियको विलासमा आनन्द खोजेर नासवान मार्गमा भटकि रहन्छ । भगवत प्राप्ति मनुष्यले मात्र गर्न सक्दछ, अरु जीव यति सम्म कि देवताले पनि प्राप्त गर्न सक्दैन । स्वर्गको फल देवता हुनु हो । त्यसैले स्वर्गको कामना गर्नु प्रमुढा (महामुर्खता) हो भनेको छ वेदले । देवताले पनि मनुष्य जुनिको कामना गर्दै भगवानको भक्ति गरेर भगवत मिलनको चाहना गर्दछन् । भगवान नाममा बास गर्दछ । त्यसैले भगवानको नामको ठुलो महिमा छ । आनन्दो ब्रह्मेति व्यजानात् । अर्थात् आनन्दको पर्यायवाची भगवान हो । ‘राम’ ‘कृष्ण’ नाममा कलियुगमा भगवानले बास गर्दछन् । मूर्तिमा बास गर्दछन् । तर नाम लिदा, दर्शन गर्दा भावनायुक्त हुनु पर्दछ। जसरी जुरुसप्रुडेन्स (बिधिशास्त्र) को सिद्धान्त अनुसार न्यायमुर्तिले कुनै व्यक्तिमाथि लागेको अभियोगमा त्यो अभियुक्तको अपराध गर्ने मनसाय रहे नरहेको सुनुवाइको क्रममा परख गर्छन, भगवानले पनि रामनाम त्यसै मुखले भजेको छ कि, भजन गलाले गाएको छ कि, रमाइलोको लागि कृतन गरेको छ कि भावना अभिलेख गर्दछन् । शरिरका इन्द्रियले, भौतिक पदार्थ र द्रव्यले गरेको भजन र पुजाको फल जिरो बराबर हो । मनको समर्पण, श्रद्धा, विश्वासको मात्र गणना हुन्छ ।
जसको बराबर कोहि छैन, जो भन्दा सर्बशक्तिमान कोहि छैन, त्यस्ता छन् भगवान ब्रह्म । जसकोद्वारा संसारको उत्पत्ति, रक्षा र जसमा संसारको लय हुन्छ, उनको एक दृष्टिमात्रले सृष्टि र महाप्रलय हुन्छ र समस्त ब्रह्माण्ड उनैमा लय हुन्छ । श्रीरामपूर्वतापिन्युपनिषद्ले रामको अर्थ यस्तो लेखेको छ:
रमन्ते योगिनोsनन्ते नित्यानन्दे चिदात्मनि ।
इति रामपदेनासौ परं ब्रह्माभिधीयते ।
अर्थात् जो सत् चित् आनन्द पूर्णतम पुरूसोत्तम ब्रम्ह छन् उनै राम हुन । राम त्वं परमात्मासि सच्चिदानन्दविग्रह:। भनेको छ मुक्तिको पनिषद्ले। राम एव परं ब्रह्म राम एव परं तप :।
राम एव परं तत्त्वं श्रीरामो म तारकम् भनेर रामरहस्योपनिषद्ले संवोधन गरेको छ । एवको अर्थ नै भन्ने बुझ्नु पर्दछ । अध्यात्म रामायणले रामं विद्धि परं ब्रह्म भनेको छ । एक वेदका चारवेद, चार उपवेद, छ वेदान्त, उपनिषधहरु, पाँचौ वेदको रुपमा रहेका पुराणहरु सबैले राम र कृष्णलाई सर्वेश्वर भगवान भनेर पुकार गरेका छन् । पहिले वेदका १०३० शाखा थिए रे अहिले १५ शाखा मात्र अस्तित्वमा छन् । रामचरितमानसमा रामको अनेक स्तुति छन् । त्वदंघ्रि मूल ये नराः, भजंति हीन मत्सराः । पतंति नो भवार्णवे, वितर्क वीचि संकुले । हे प्रभु ! जो मनुष्य ईष्या रहित भावले हजुरका चरण कमलको निरन्तर स्मरण गर्छ, उसले जन्म मरणको भव सागरबाट पार पाउँछ, पुनर्जन्मको बन्धनबाट मोक्ष पाउँछ । कलियुगको प्रारम्भदेखि अहिले सम्म भगवानका दुतका रुपमा विभिन्न मुनि, सन्तमहात्महरुले मनुष्यको उद्धारका लागि अथक प्रयास गरेको मान्यता छ । आदि जगद् गुरू शंकराचार्य, जगद् गुरू रामानुजाचार्य, निम्वार्काचार्य, माध्वाचार्या जगद् गुरू हरुले तत् तत् समय अनुकुल मार्ग र दर्शन प्रतिपादन गरि मनुष्य कल्याणका लागि मार्ग दर्शाउनु भएको छ ।
गौराङ्ग महाप्रभुले भगवत महिमाका गाथा बताएर जानु भएको छ । भगवानको धाम पाउन श्रोतिय ब्रह्मनिषठ अर्थात जसले जन्मदै शास्त्र वेद जानेको परंहंश होस र भगवानको दर्शन गरि सकेको होस् त्यस्ता गुरूले बताए अनुसार भगवानका रुप, लिला, गुण, धामको श्रवण, कीर्तन र स्मरण गर्नु पर्दछ । अद्वैतवादी शंकराचार्य, विशिष्टा द्वैतावादी रामानुजाचार्य, द्वैताद्वैतवादी निम्बार्काचार्य, द्वैतावादी माध्वाचार्यले प्रतिपादन गरेका दर्शनलाई समन्वय गरेका ५०० शीर्षस्थ शास्त्रज्ञ तत्कालीन काशी विद्वत परिषत् ले जगद् गुरूमा पनि उत्तम पदले विभूषित, श्रीमत्पदवाक्यप्रमाणपारावारीण, वेदमार्ग प्रतिष्ठापनाचार्य, निखिल दर्शनसमन्वयाचार्य, सनातन वैदिक धर्म प्रतिष्ठापन सत्संप्रदायपरमाचार्य, भक्तियोगरसावतार, भगवदन्नत श्रीविभूषित जगद् गुरू १००८ स्वामि श्री कृपालु महाराजले रामलाई सर्वद्रष्टा, सर्वनियन्ता, सर्वसाक्षी, सर्वसुहत, सर्वेश्वर, सर्वशत्तिमान्, आत्माराम, पूर्णकाम परम निष्काम, योगिन्द्र, मुनिन्द्र, परमहंसों, भन्दा पनि आराध्य एक अद्वितीय सुप्रीम पावर भनेर वेद शास्त्रको आाधारमा वर्णन गर्नु भएको पाइन्छ । प्रविधि र सामाग्री त हामी नयां भर्सन, ताजा खोज्छौ भने भगवत दर्शनमा किन अवलम्वन नगर्ने ? वेद शास्त्र मनुष्यले पढेर सहि रुपमा बुझ्नै सक्दैन । कृपालुको भक्तियोग तत्वदर्शन अर्थात उहाँले रचना गर्नु भएका प्रेम रस सिद्धान्त, प्रेम रस मदिरा, राधा गोविन्द गीत, भक्ति शतक अहिलेको कलिकालमा संपूर्ण वेद, शास्त्र सरह नै छन् । मानौ कि कुनै चित्रकारले अगाडि रहेको चिज वस्तु हेरेर दुरूस्त चीत्र कोरेको तस्विर हुवहु हुन्छ, त्यस्तै गरी उहाँका प्रवचन र रचनामा उहाँले भगवानलाई हेर्दै वर्णन गर्नु भएको अनुभूति गर्न सकिन्छ । यो अज्ञानी, कलिमलग्रस्त, अल्पज्ञले उहाकै प्रवचन, रचना, प्रकासन पढेर, सुनेर भगवानका विषयमा यति लेख्ने धृष्टता गरेको छु । यो मेरो सामर्थको विषय नै होइन । उहाँको विषय अगम्य छन् । अनेक त्रुटि र कमजोरीका लागि क्षमा चाहान्छु । जय श्री राम । राम नवमी २०८१ को सबैमा हार्दिक शुभकामना !