Shittalpati
देश रोइरहेछ

‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ । देशले विकासका योजना नपाएको पनि होइन, देशले गाउँका किसानको मनोभावलाई बुझेर आफ्ना नीति र कार्यक्रम पनि बनाएकै हो तर कहाँ अनि के कमजोरी भयो कुन्नी देशवासीहरु नैराश्यताको चपेटाबाट बाहिर निस्कन सकिरहेका छैनन् । निराशाका खाँडलहरु पुर्ने र आशावादीका परिचय दिने खालका गतिविधीहरु अत्यान्तै कमजोर भएका छन् । चारैतिर विरोधाभास अनि आहालका मूलहरु मौलाएका छन् । जनता र सरकार दुवैले आफ्नो काम कर्तव्य प्रति चासो दिएका छैनन् । सरकारले जनताप्रतिको अभिभावकत्व ग्रहण गर्ने कुरामा अलमल गरिरहेको देखिन्छ । जनता केवल आशा खेती पर्खिरहेका देखिन्छन् । सरकारको नीति र बजेट अनि कार्यक्रमहरु प्रत्येक वर्ष बनिरहन्छन् तर कायान्वयनका पक्ष भने कहि न कहि कमजोर भएकै कारण जनताले निराशा व्यक्त गर्ने मौका पाएका हुन् । निर्वाचनका बेला ठूला–ठूला आशाहरु देखाउने अनि कार्यान्वयनमा पटक्कै वास्ता नगर्ने गरेका कारण पनि समस्याहरु बढिरहेका छन् ।

शैक्षिक बेरोजगारी अनि आर्थिक रुपमा देखापरेका मन्दीलाई सही रुपमा व्यवस्थापन गर्न नसक्नु पनि सरकारको कमजोरी हो । रातारात सरकारको अस्थिरताका बादलहरु मडारिरहने परम्पराहरुले पनि समस्या श्रृजना गरेका छन् । बालबालिका, महिला र वृद्धहरुका अधिकार अनि उनीहरुको स्वास्थ्य उपचारका लागि राज्यका कुनै पनि सरकार गम्भीर नभएका कारण पनि जनताले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यताहरु छन् । यी र यस्तै तमाम समस्याहरु समाधान नखोज्दा सरकारले केही पनि गरेर भन्ने आरोप खेप्नुपर्ने बाध्यता छ । त्यसकारण अहिले समग्रतामा देश रोइरहेछ । त्यसैले जनताको मुहारमा हाँसो देखिने गरी काम गरौं, अनि बल्ल देश हाँसेको अनुभूति हुनेछ । अन्यथा जहिले पनि देश रोइरहनुपर्ने बाध्यता कायम रहन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update