सम्पदा त्यो देशको पहिचान र सभ्यता हो । हरेक मुलुकको आफ्नै सम्पदा, मौलिक सभ्यता, संस्कृति र संस्कार हुन्छ । यी नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । हाम्रो सभ्यतालाई चुनौती दिनसक्ने हैसियत कसैमा छैन तर हामीले हाम्रो सभ्यताको धरोहर सम्पदा संरक्षणमा पटक्कै चासो दिएका छैनौँ । यसलाई मुलुकको समृद्धिसँग जोड्न पनि सकेका छैनौँ । यो अत्यन्त दुःखको कुरा हो । अन्य मुलुकले कृत्रिम संरचना बनाएर लाखौँ पर्यटक आकर्षित गरिरहेका छन् तर हामीकहाँ हजारौँ वर्ष पुराना संरचना खण्डहर बनाइएका छन् । सम्पदा संरक्षण समृद्धिको आधार हो भन्ने बुझ्न र बुझाउन सकिएको छैन । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्व सम्पदा दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्भर यो दिवस मनाइँदै छ । तर हरेक वर्ष यो दिवस मनाउने गरे पनि सम्पदा संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन ।
नेपालमा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइसकेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेका छन् । सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । चाहे सडक फराकिलो पार्ने बहानामा होस् या ठूला–ठूला भवन निर्माण गर्ने प्रतिस्पर्धामा नै किन नहोस्, विगतमा देखिएका फराकिला ठाउँहरु अहिले साँघुरो बन्दैछन् जसअन्तर्गत विश्व सम्पदाकै रुपमा परिचित रहेका क्षेत्रहरु समेत दिनानुदिन अतिक्रमणको मारमा पर्न थालेका छन् । अझ अहिले पनि ७२ सालको महाभूकम्पको निशानामा परेका कयौँ सम्पदाहरु अझै उठ्न सकेका छैनन् । सम्पदाप्रति रहेको उदासीनताले हाम्रो मौलिक अस्तित्व र धरोहर खतरामा पर्दै गएको छ । इतिहासको महत्वपूर्ण कालखण्डको प्रतिनिधित्व गर्ने त्यस्ता संरचनाहरु दिनानुदिन खतरामा पर्दै जानु भनेको हाम्रो पहिचानमै संकट आउनु पनि हो । सम्पदा संरक्षणको सन्दर्भमा चाहे ती मूर्तिहरु होऊन् वा गजुरहरु, चाहे ती भवनहरु हुन् वा काठका टुक्राहरु हरेकको मूल्यवत्ता छ, जसलाई कम आँक्ने भूल नगरौँ । देशको समृद्धिसँग प्रत्यक्ष जोडिएका सम्पदाहरुको मर्मत सम्भारदेखि पुनर्निमार्णका कार्यमा तदारुकता देखाई तिनीहरुको संरक्षण तथा सर्वद्धनमा तीनै तहका सरकारले गम्भीर भएर सोच्न जरुरी छ ।